
काठमाडौं, मंसिर २६ । चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब ७० करोड रुपैयाँ बढीको मास्क तथा स्यानिटाइजरमात्र आयात भएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागको चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्यांकानुसार यस अवधिमा ५४ करोड २३ लाख बराबरको फेस मास्क आयात भएको छ भने एक अर्ब १६ करोड बढीको स्यानिटाइजर आयात भएको छ ।
हाल मास्क र स्यानिटाइजरको स्वदेशी उत्पादन पनि उल्लेख्य दरले बढेको छ । माग उच्च भएकाले स्वदेशी उत्पादन बढ्न थालेपनि आयातको हिस्सा पनि ठूलो रहेको विभागले जनाएको छ ।
साउनमा सात करोड १२ लाख, भदौमा १४ करोड ५२ लाख, असोजमा २५ करोड तथा कात्तिकमा सात करोड रुपैयाँ बराबरको मास्क आयात भएको भन्सार विभागको तथ्यांक छ ।
आर्थिक वर्ष २०७६/७७ मा ३५ करोड ८० लाख बराबरको फेस मास्कमात्रै आयात भएको थियो ।
यस्तै, यस वर्ष साउनमा १२ करोड २४ लाख बराबरको स्यानिटाइजर आयात भएको छ भने भदौमा २६ करोड ४३ लाख, असोजमा ३६ करोड ४१ लाख तथा कात्तिकमा ४० करोड ९१ लाख बराबरको स्यानिटाइजर भित्रिएको भन्सार विभागले जनाएको छ ।
स्यानिटाइजर भारत, चीन, मलेसिया, न्यूजिल्यान्ड, जापान, इटालीलगायतका मुलुकबाट आयात हुने गरेको छ भने फेस मास्क भारत, चीन, अष्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, इटालीलगायतका मुलुकबाट आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्