१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कञ्चनपुरका कुस्ती खेलाडीलाई नियमित अभ्यासमा समस्या


0
Shares

कञ्चनपुर, मंसिर २७ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा कुस्ती विधाबाट पदक विजेता कञ्चनपुरका खेलाडीहरुलाई नियमित अभ्यासमा समस्या देखिएको छ ।

कुस्तीको सम्भावना बोकेको कञ्चनपुरमा नयाँ खेलाडी उत्पादन त परै जाओस्, पदक विजेता खेलाडीहरुले समेत नियमित अभ्यास र प्रशिक्षणका लागि ठाउँ पाउन सकिरहेका छैनन् ।

कञ्चनपुरबाट प्रतिनिधित्व गरी दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदक विजेता खेलाडीहरुले नियमित अभ्यासका लागि स्थान अभाव भएको गुनासो गरेका छन् ।

कुस्ती खेलमा निकै सम्भावना बोकेको जिल्ला भएपनि कञ्चनपुरमा नियमित अभ्यासका लागि अहिलेसम्म स्थान बनाउन सकिएको छैन । जसले गर्दा नयाँ खेलाडीहरु उत्पादन त परै जाओस्, पदक विजेता खेलाडीहरुल पनि नियमित अभ्यास र प्रशिक्षणका लागि ठाउँ नपाएको गुनासो गरेका छन् ।

गत वर्ष सम्पन्न (साग) खेलअन्तर्गत् कुस्ती विधामा नेपालले १३ पदक जित्यो । जसमा सातओटा पदक कञ्चनपुरका खेलाडीले हासिल गरेका थिए ।

त्यतिमात्रै होइन, ऐतिहासिक सफलता प्राप्त गर्दै संगीता धामीले नेपालका लागि स्वर्णपदक हासिल गरिन् भने अन्य खेलाडीहरुले तीन रजत र तीन कास्यपदक जितेका थिए ।

उनीहरु अहिले महेन्द्रनगरस्थित कभर्डहलमा नियमित प्रशिक्षणमा जुटेका छन् । प्रशिक्षणका लागि आवश्यक पर्ने तालिम हल नहुँदा खेलाडीहरु कहिले खुला चौरमा त कहिले सानो कोठाभित्र प्रशिक्षण गर्न बाध्य छन् । जसले गर्दा सोचेजस्तो राम्रो प्रदर्शन गर्न नसकेको खेलाडीहरुको भनाइ छ ।

कुस्ती खेलका लागि १२/१२ मिटरको हल आवश्यक पर्छ । तर, खेलाडीहरुले ३/८ मिटरको सानो कोठामा अभ्यास गरिरहेका छन् ।

आगामी खेलको तयारीमा जुटेका उनीहरुलाई नियमित अभ्यासका लागि स्थान अभाव भएपनि सरोकारवाला निकायहरुले ध्यान नदिएको कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दको गुनासो छ ।

सम्भावना बोकेको खेल भएपनि राज्यले खेलाडीरुको नियमित अभ्यास, उनीहरुलाई व्यावसायिक तथा आर्थिकरुपमा आत्मनिर्भर हुने व्यवस्था नगरुन्जेलसम्म नेपालमा खेलको विकास हुन नसक्ने देखिन्छ । त्यसैले त्यसतर्फ राज्यको ध्यान जान जरुरी छ ।

भिडियो हेर्नुहोस्