३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


इलामको गुम्बामा बढ्दै दर्शनार्थी


0
Shares

इलाम, मंसिर २७ । इलामको सीमावर्ती मानेभञ्ज्याङ–सन्दकपुरको बीचमा पर्ने मेघमास्थित गुम्बाको विशेषताले जो–कोहीलाई लठ्ठ बनाउने गरेको छ ।

विश्वमा नै दुर्लभ मानिएको यो गुम्बाको मूर्तिका कारण खोजकर्ता र दर्शनार्थीहरु पुग्नेक्रम बढ्दै गएको छ ।

इलामको माइजोगमाई गाउँपालिकामा पर्ने यो गुम्बामा १०८ ओटा फरक प्रकृतिका मूर्तिहरु रहेका छन् ।

पासाङ तामाङ र उनको परिवारको प्रयासमा करिब सात दशकअघि निर्माण गरिएको यो गुम्बा तामाङकै परिवारले संरक्षण गर्दै आएको छ ।

साङछेन ङग्युर होसाल देक्षेन छोलिङ गुम्बाको मूर्तिमा मानव जीवनका भिन्न–भिन्न क्रियाकलाप, राशलीला झल्कने दृष्यलगायतको कलात्मक प्रस्तुति छ । यी मूर्तिहरुलाई शान्ति र क्रान्तिको प्रतीकका रुपमा पनि लिने गरिन्छ ।

मान्छेले गलत क्रियाकलाप गर्न नहुने र गरे मृत्युपछि पाइने पापको भागी बन्नुपर्ने संकेत मूर्तिले गरेको जनविश्वास छ ।

गुम्बामा बुद्ध पूर्णिमामा धुमधामका साथ पूजाआजा गरिन्छ । अन्य बौद्ध पर्वमा पनि भक्तजनको भिड लाग्छ ।

मूर्तिको फरक–फरक विशेषताकै कारण दर्शनकै लागि टाढा–टाढाबाट दर्शनार्थीहरु आउने गरेका छन् ।

मुख्य गरेर पश्चिमा र भारतीय पर्यटकहरु यो गुम्बामा दर्शन गर्न पुग्ने गरेका छन् ।

अनौठो धार्मिक विश्वास र फरक प्रकृतिको यो दुर्लभ सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्दै संरक्षण र प्रचार–प्रसारमा सबैले ध्यान दिनुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्