
काठमाडौं, मंसिर २७ । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार (भोलि) बस्ने संवैधानिक परिषद्को बैठकमा नजाने हुनुभएको छ ।
विभिन्न संवैधानिक निकायमा रिक्त पदमा पदपूर्तिको लागि संवैधानिक परिषद्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।
तर, प्रमुख प्रतिपक्षी दलका नेता देउवाले आफ्ना सहयोगीमार्फत् आइतबार बस्ने संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसक्ने सन्देश पठाउनुभएको छ ।
कांग्रेस स्रोतकाअनुसार यही मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम राखेको कारण देउवाले सहयोगीमार्फत् त्यसअघि बस्ने संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने सन्देश पठाउनुभएको हो ।
प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरुमा रिक्त पदपूर्ति गर्न बैठक बोलाउनुभएको हो ।
तर, संवैधानिक परिषद्मा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था भएकाले विपक्षी दलको नेता उपस्थित नहुने भएपछि बैठक स्थगित हुने सम्भावना छ ।
कांग्रेस नेता रमेश लेखकले आइतबार बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित हुनसक्ने बताउनुभयो ।
शुक्रबार आफ्ना सहयोगी नेतासहित प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाबीच संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा छलफलसमेत भएको थियो ।
बैठकमा सहभागी नेकपा नेता सुवासचन्द्र नेम्वाङ र कांग्रेस नेता रमेश लेखकले सहमतिमै बैठक बस्ने प्रतिक्रिया दिएका थिए ।
अख्तियार, निर्वाचन आयोगलगायत विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्