१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनी मुलुकले कोरोनाविरुद्धको खोप धमाधम किन्दै, गरिब मुलुकका नागरिकको पहुँचमा पुर्‍याउन चुनौती


0
Shares

काठमाडौं, मंसिर २७ । कोरोनाभाइरस फैलिएको झन्डै एक वर्षको अवधिमा यतिबेला केही ठूला औषधि उत्पादक कम्पनी, विश्वविद्यालयले भारसविरुद्धको खोपमा ठूलो सफलता प्राप्त गरेका छन् ।

केही मुलुकमा खोप लगाउन सुरु गरिएपछि यसले मानिसहरुमा आशाको सञ्चार जगाएको छ ।

तर, गरिब र कमजोर मुलुकमा खोप कहिलेसम्म सबैको पहुँचमा पुग्ला धेरैको जिज्ञासा पनि छ ।

अमेरिकी कम्पनी मोडर्ना, अमेरिकी–जर्मन साझेदारीको फाइजर–बायोएनटेक, बेलायतको अस्ट्राजेनिका–अक्सफोर्ड, रुसको स्पुतनिक भी, चीनको सिनोफार्म र क्यानसिनो तथा भारतको सिरोम फर्मास्युटिकल्स (कोभिसिल्ड) खोप निर्माणमा निकै अगाडि बढिसकेका छन् ।

फाइजर र मोडर्नाका खोपहरु ९५ प्रतिशतसम्म असरदार रहेको दाबी गरिएको छ ।

सुरुमै आफ्नो खोप सफल रहेको दाबी गर्ने रुसको स्पुतनिकका बारेमा विस्तृत जानकारीको अभाव रहेको बताइन्छ ।

हाल सर्वाधिक चर्चामा फाइजरकै खोप छ । बेलायतमा यो खोप लगाउन सुरु गरिएको छ । अमेरिकामा पनि फाइजरले अनुमति पाएको छ ।

फाइजरका खोप भित्र्याउन क्यानडा, बहराइन, साउदी अरेबिया र मेक्सिकोले सहमति दिइसकेका छन् ।

मेक्सिकोमा यही डिसेम्बरको तेस्रो साताबाट खोप लगाउन सुरु गरिने मेक्सिकोका राष्ट्रपतिले घोषणा गर्नुभएको छ । मेक्सिकोले फाइजरका साथै चीनको क्यानसिनो खोप करिब तीन करोड ५० लाख ‘डोज’ खरिद गरेको छ ।

भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड नामको खोप विकास गरेर अन्तिम ‘क्लिनिकल’ परीक्षण भइरहेको जनाएको छ ।

भारत सरकारको अनुमति पाएसँगै यस कम्पनीले करिब ४० करोड डोज खोप भारत सरकारलाई उपलब्ध गराउने सेरमका प्रमुख कार्यकारी अदर पुनावालाले बताउनुभएको छ ।

चीनको सिनोफार्मले विकास गरेको सिनोभ्याकले ८६ प्रतिशतसम्म प्रभावकारी काम गरेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिनोफार्मको सिनोभ्याक खोप आमसर्वसाधारणलाई लगाउन इन्डोनेसिया पुगिसकेको छ । यस्तै, टर्की, ब्राजिल र चिलीमा पनि चिनियाँ खोप पठाइएको छ ।

चीनमा हाल चारओटा कम्पनीले विकास गरेका पाँच किसिमका खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण चलिरहेको छ ।

फाइजर र मोडर्नाको तुलनामा सबैजसो चिनियाँ खोपहरु कम चिसोमा राख्न सकिने र त्यसलाई धेरैजसो विकासशील मुलुकहरुमा सहजै आपूर्ति र वितरण गर्न सकिने बताइएको छ ।

कोरोनाभाइरस महामारीसँग जुध्न हाल निर्माणको अन्तिम चरणमा रहेका खोपहरु विश्वभरका मुलुकहरुमा सहज र समानुपातिकरुपमा वितरण हुनुपर्ने जिकिर विश्वका नेताहरु र अभियन्ताहरुले जोडदाररुपमा आवाज उठाउन थालेका छन् ।

‘बीबीसी’का अनुसार अस्ट्राजेनिका–अक्सफोर्ड खोपको मूल्य प्रतिडोज चार डलर, मोडर्नाको ३३ डलर, फाइजर–बायोएनटेकको २० डलर, स्पुतनिकको १० डलर तथा सिनोभ्याकको ३० डलर पर्नेछ । यी खोपहरु दुई डोज लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनको अगुवाइमा कोभिड–१९ भ्याक्सिनको विश्वव्यापी पहुँच (कोभाक्स) स्थापना पनि भएको छ । जसले कोरोनाविरुद्धको खोपलाई विश्वका सबै धनी, गरिब मुलुकमा सहज र सस्तो मूल्यमा उपलब्ध गराउन तथा गरिब राष्ट्रलाई मद्दत गर्न पहल गर्नेछ ।

तर, विश्वका अतिगरिब र कोभिड–१९ का कारण अर्थतन्त्रमा निरन्तर संकट व्यहोर्दै आएका मुलुकहरुले यी महँगा खोपमा कहिले र कसरी सहज र समानुपातिक पहुँच हासिल गर्लान्, अहिल्यै केही बताउन सकिने अवस्था छैन । एजेन्सीको सहयोगमा