
ताप्लेजुङ, मंसिर २७ । आफ्नै कार्यालय भवन नहुँदा काममा समस्या आएपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले वडा कार्यालयदेखि प्रमुख प्रशासकीय भवन निर्माणमा ध्यानकेन्द्रित गरेको छ ।
आगामी वर्षको फागुनसम्ममा गाउँपालिका र तीनओटा वडाको भवन निर्माण भइसक्ने गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो ।
विभिन्न निर्माण कम्पनीहरुसँग निर्माण सम्झौता सकिएसँगै ५, ६ र ७ नम्बर वडा कार्यालय भवनको शिलान्याससमेत भएको छ । उक्त भवनहरुको निर्माण लागत दुई करोड ३७ लाख रुपैयाँ रहेको छ ।
प्रमुख प्रशासकीय भवन पाँच करोड ३१ हजार रुपैयाँको लागतमा निर्माण हुनेछ ।
करिब ३०० बढी व्यक्ति अटाउने सभाहल, अतिथिगृह, स्टोरसहितका संरचनासमेत एकैपटक निर्माण हुनेछन् ।
‘द्वार एक, सेवा अनेक’ भन्ने नारा अर्थात् स्वरुपमा बन्ने भवन सेवाग्राहीमैत्री बन्ने र स्थानीय सरकारका सेवा प्रवाहमा सहजता आउने गाउँपालिकाको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्