
चितवन, मंसिर २७ । चितवनका कुनैपनि सञ्चारगृहमा श्रमजीवी ऐन कार्यान्वयन नभएको पाइएको छ ।
नेपाल पत्रकार महासंघ चितवनले शनिबार सम्पन्न गरेको साधारणसभामा सो कुराको जानकारी दिइएको हो ।
त्यस्तै, महासंघले स्थापना गरेको पत्रकार कल्याणकारी कोषलाई एक करोड रुपैयाँसम्म पुर्याइने भएको छ ।
साधारणसभामा अध्यक्ष राधेश्याम खतिवडाले कल्याणकारी कोषमा हालसम्म १० लाख रुपैयाँ संकलन भएको र यसको परिचालका लागि कार्यविधि पनि चाँडै बनाउने बताउनुभयो ।
कार्यविधि बनेसँगै यसको वृद्धिका लागि विशेष अभियान सञ्चालन गरेर एक करोडसम्म पुर्याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
महासंघमा ६१ जनाले नयाँ सदस्यता पाएका छन् भने महासंघको सदस्यता शुद्धीकरणअन्तर्गत् ३४ जनाको सदस्यता नवीकरण गरिएको छैन ।
कार्यालयमा स्थापना भएको ‘हेल्प डेस्क’ प्रभावकारी भएको र कोरोनाको नाउँमा सञ्चालकहरुले दुःख दिएका १७ जना श्रमजीवी पत्रकारहरुका गुनासा तथा उजुरी संकलन गरी समाधान गरिएको महासंघले जानकारी दिएको छ ।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालले महासंघ सधैं श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारका लागि लडिरहने भन्दै अहिले पनि पारिश्रमिक तथा जागिरबाट हटाइएका पत्रकारहरुको पक्षमा आन्दोलनमै रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्