
काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार २६ औं महानगर दिवस मनाउने भएको छ ।
कोभिड संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाउन लागेको हो ।
महानगर पालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष सोही दिन महानगर दिवस मनाउँदै आएको छ ।
मेयर विद्यासुन्दर शाक्यले आइतबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमणको विशेष परिस्थितिमा पनि औपचारिक कार्यक्रम गरी महानगर दिवस मनाउन लागिएको बताउनुभयो ।
महानगर दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागिएको पनि मेयर शाक्यले बताउनुभयो ।
यस्तै महानगरपालिकाले अहिले सम्म गरेका कामहरु र आगामी योजनाको सम्बन्धमा पनि जानकारी गराउने कार्यक्रम रहेको मेयर शाक्यले बताउनुभयो ।
महानगर भित्रका भित्रि सडक र मूल सडकमा रातिको समयमा उज्यालो बनाउने अभियान सुरु गरिएको र आगामी तीन महिना भित्रमा महानगरपालिकाका सबै सडकमा बत्ती बल्ने उहाँले बताउनुभयो ।
महानगर दिवसका अवसरमा विभिन्न बुजाका गुरुहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि मेयर शाक्यले बताउनुभयो ।
यस्तै महानगरपालिकाले पहिलो जननिर्वाचित मेयर स्वर्गिय जनकमान श्रेष्ठको नाममा स्थापना गरिएको ‘जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई प्रदान गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्