१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाललाई फकाउँदैं ओली, नेपालको साथ छाड्न आग्रह


0
Shares

काठमाडौं । नेकपाको स्थायी कमिटीको बैठक पुस ४ गतेसम्मका लागि स्थगित भएपछि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पुनः फकाउन थाल्नुभएको छ ।

अध्यक्ष ओलीले दाहाललाई सहयोगीमार्फत र बालुवाटारमै बोलाएर आफूसँग मिल्न दबाव दिनुभएको थियो ।

उहाँले यसअघि पनि असन्तुष्ट नेताहरुलाई फकाउन प्रयास गरेपनि बैठकबाटै समस्या समाधान गर्ने अडान लिएपछि ओलीको प्रयास सफल हुन सकेको छैन ।

ओलीले यसअघि उपाध्यक्ष बामदेव गौतम र अध्यक्ष दाहाललाई फकाउन गरेको प्रयास असफल भएको छ । उहाँले वरिष्ठ नेता माधवकुमार नेपालको साथ छोड्न आग्रह गर्नुभएको थियो ।

ओलीको कार्यशैलीको विरोधमा नेकपा सचिवालय र स्थायी कमिटीमा असन्तुष्ट पक्षको बहुमत भएसँगै ओलीले नेताहरुलाई फकाउन थाल्नुभएको छ ।

अध्यक्ष दाहाललाई फकाउन महासचिव विष्णु पौडेल, इश्वर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताहरुले गरेको प्रयास सफल हुन सकेको छैन ।

दुवै अध्यक्षले एक अर्काप्रति आरोपप्रत्यारोप गरेर छुट्टा छुट्टै प्रस्ताव सचिवालय बैठकमा दर्ता गराएपछि नेकपाको विवाद थप बढेको थियो ।

गत कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले ओलीलाई विभिन्न आरोप लगाएर प्रस्ताव पेश गरेपछि त्यसको जवाफ अर्का अध्यक्ष ओलीले १० दिनपछि दिनुभएको थियो ।

दाहालको प्रस्ताव पेश भएपछि उक्त प्रस्ताव पार्टी कमिटीमा छलफल नै नगर्न ओलीले गरेको जोडबल सफल नभएपछि पत्रको जवाफ पेश गर्नुभएको थियो ।

दुवै प्रस्तावमा अध्यक्षद्वयले एकअर्कालाई आरोप लगाएपछि नेताहरु विभाजित भएका थिए ।

त्यसयता लगातार एक अर्काका प्रस्ताव खारेज गर्न शीर्ष नेताहरुले गरेको प्रयास असफल भएपछि विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाइयो ।

त्यसयता मंसिर २१ र २७ गते बसेका बैठकमा दुवै प्रस्तावमाथि छलफल भएको छैन ।