२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौंका धारामा मेलम्चीको पानी झार्ने भाका पटक पटक सार्दै सरकार


0
Shares

काठमाडौं । कोभिड–१९ का कारण काममा अलमल भएपछि मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ ।

लकडाउनको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले बताएको छ ।

सुरुङसँगै ‘हेडबक्स’ को बाँकी काम सम्पन्न गर्ने गरी सरकारले गत वर्ष असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिएको थियो ।

तोकिएको अवधि आगामी पुसमा सकिने नदेखिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोभिडका कारण ढिलाइ भएका आयोजनामा छ महिना अवधि थप्न सकिने सरकारको निर्णयका आधारमा थप्न लागिएको हो ।

निर्माण कम्पनीले आगामी चैतबाट पानी पथान्तरण नै गर्न सकिने बताएको सूचना अधिकारी पन्तले बताउनुभयो ।

गत असारमा सुरुङको परीक्षणका क्रममा अस्थायी बाँधबाट पानी सुरुङमा पठाइएको थियो ।

अहिले आयोजनाले पुनः पानी पथान्तरण गर्ने योजना बनाइरहँदा ‘हेडबक्स’ निर्माण सकिएमा त्यसैबाट पथान्तरण गर्न सकिनेछ ।

लकडाउनका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको र निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्था सहर काम हुनसकेको थिएन ।

खानेपानी मन्त्रालयले पटकपटक काठमाडौं उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो ।

पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको छ ।