
काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाले सोमबार २६औं महानगर दिवस मनाएको छ ।
महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनमा हरेक वर्ष महानगर दिवस मनाउँदै आएको हो ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले विश्वको राष्ट्रहरुमा भन्दा हाम्रो संविधानले स्थानीय सरकारलाई असाधारण अधिकार दिएको र उक्त अधिकार असाधारण काम गर्न दिइएको बताउनुभयो ।
महानगर दिवसको अवसरमा महानगरले ‘स्वस्थ मिर्गौला, स्वस्थ काठमाडौं’, नाराका साथ ‘मिर्गौला बचाउ अभियान’ घोषणा गरेको छ ।
कार्यक्रमका लागि मेयर विद्यासुन्दर शाक्यले मिर्गौला विशेषज्ञ डा. ऋषिकुमार काफ्लेसँग सम्झौता गर्नुभएको छ ।
मेयर शाक्यले महानगरले अहिलेसम्म गरेका काम र आगामी योजनाको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
महानगरभित्रका भित्रि सडक र मूल सडकमा रातिको समयमा उज्यालो बनाउने अभियान सुरु गरिएको र आगामी तीन महिनाभित्रमा महानगरपालिकाका सबै सडकमा बत्ती बाल्ने योजना रहेको मेयर शाक्यले बताउनुभयो ।
महानगर दिवसका अवसरमा विभिन्न बाजाका १७५ जना गुरुहरुलाई जनही ३० हजार रुपैयाँबाट सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्