
काठमाडौं, मंसिर २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । वर्तमान सरकार गठन भएयता यो नै कांग्रेसको सबैभन्दा ठूलो सडक प्रदर्शन हो ।
सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै सच्चिन कांग्रेसले चेतावनी दिएको छ । कांग्रेसलाई ‘बाघ’को संज्ञा दिँदै उनीहरुले जिस्क्याउने प्रयत्न नगर्न हाँक दिएका छन् ।
हेटौंडामा आयोजित विरोधसभालाइ सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले चुनावअघि आफूले ‘कम्युनिस्टले जिते रुन पनि पाइँदैन’ भनेको कुरा ओली नेतृत्वको सरकारले चरितार्थ गरेको जिकिर गर्नुभयो ।
उहाँले सरकारको अलोकतान्त्रिक चरित्रका कारण सडकमा ‘राजा आऊ, देश बचाऊ’को नारा घन्किन थालेको भन्दै असन्तुष्टि पोख्नुभयो ।
त्यसैगरी, काठमाडौंमा भएको सडक संघर्षलाई नेतृत्व गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यलाई कम्युनिस्टकरण गर्ने दुष्प्रयास भइरहेको भन्दै भर्त्सना गर्नुभयो ।
उहाँले ‘पञ्चायतमा रूख रोप्दा टाउको फुटालिएको तर लोकतान्त्रिक व्यवस्था भएपनि कम्युनिस्ट शासनमा पुल बनाउँदा करङ भाँचिएको’ भन्दै आक्रोश पोख्नुभयो ।
पूर्वको कमान्ड समाल्नुभएका महामन्त्री डा. शशांक कोइरालाले सरकारमा ‘भिजन’को अभाव भएकाले राज्य व्यवस्थाप्रति नै जनगुनासो बढेको जिकिर गर्नुभयो ।
गृहनगरको सभामा उहाँले स्वास्थ्य संकटको समयमा समेत भ्रष्टाचार गरेर जनतालाई दुःख दिनबाहेक सरकारले केही नगरेको आरोप लगाउनुभयो ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापामा भएको विशाल प्रदर्शनलाई सम्बोधन गर्दै सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक किचलोमा रुमलिएको नेकपा सरकार अधिनायकवादतर्फ उन्मुख भएको दाबी गर्नुभयो ।
सडक संघर्षलाई सम्बोधन गर्दै नेताहरुले वर्तमान सरकारको असफलतामा चर्को भाषण गरेका थिए ।
तनहुँमा पुल उद्घघाटन गर्न पुग्नुभएका वरिष्ठ नेता पौडेललाई अवरोध गरेपछि आक्रोशित बनेको कांग्रेसले देशव्यापी शक्ति प्रदर्शन गरेको हो ।
मुलुकमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकाले सडक संघर्षमा गर्नुपरेको कांग्रेसको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्