
काठमाडौं, मंसिर २९ । केही महिनाअघिसम्म सरकारविरुद्ध छिटफुटमात्र देखिने गरेको सडक प्रदर्शन पछिल्ला दिनहरुमा बढ्दै गएको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै देखिने गरेका विरोध प्रदर्शनहरु पछिल्ला दिनहरुमा सरकारका समग्र काम–कारबाही र वर्तमान राजनीतिक प्रणालीविरुद्ध नै देखिन थालेका छन् ।
सडकमा बढ्दै गएको असन्तुष्टिलाई हेर्ने दृष्टिकोणबारे विभिन्न विश्लेषण हुन थालेको छ ।
सरकारको विरोधमा विज्ञप्तिमा मात्र सीमित रहेको नेपाली कांग्रेस वर्तमान सरकार गठन भएपछि पहिलोपटक औपचारिकरुपमा सडकमा उत्रिएको छ ।
संसद र सडक दुवै मोर्चामा असफल भएको भन्दै चौतर्फी आलोचना खेपिरहेको कांग्रेस गत साता आफ्नो वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि पुल उद्घाटनको क्रममा गृहजिल्ला तनहुँमा प्रशासन र सत्तारुढ दलका कार्यकर्ताको दुर्व्यवहार भएपछि सडकमा आउन बाध्य भएको छ ।
उता, वर्तमान राज्य प्रणालीकै विरुद्धमा राजतन्त्र पक्षधरहरुले मंसिर महिनामा मुलुकका मुख्य सहरहरुमा शृंखलाबद्ध प्रदर्शन गरेका छन् भने अन्य समूह पनि सरकारको विरोधमा सडक प्रदर्शन गरिरहेका छन् ।
राजनीतिज्ञ लक्ष्मणप्रसाद घिमिरे सरकार, सत्तारुढ दल र प्रतिपक्ष दलको असक्षमताको परिणाम सडकमा असन्तुष्टि बढ्दै गएको टिप्पणी गर्नुहुन्छ ।
राजनीतिक विश्लेषक मिनेश घिमिरेले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेपछि सडकमा असन्तुष्टिको आवाज उठ्न थाले पनि सरकार सच्चिए विरोधका आवाज आफैं कमजोर हुने जिकिर गर्नुभयो ।
सरकार र राज्य व्यवस्थाविरुद्धका आवाजहरु बढ्दै जाने देखिएको छ । कांग्रेसले सरकारविरुद्ध सडक संघर्षलाई जारी राख्दै सदनमा पनि संघर्ष सुरु गर्ने तयारी गरेको छ भने संघीय संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि मुद्दाको आधारमा सरकारविरुद्ध अन्य विपक्षी दलसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।
यता, राप्रपाले पनि संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्रको माग गर्दै सडक प्रदर्शन गर्ने तयारी गरेको छ ।
पछिल्ला प्रदर्शनमा देखिएको सहभागिताबाट उत्साही राजावादी समूहहरु पनि संघर्षलाई चर्काउने पक्षमा छन् ।
राजनीतिज्ञ घिमिरे वर्तमान असन्तुष्टि राज्य व्यवस्थाविरुद्ध जाने संकेत देखिएको दाबी गर्नुहुन्छ ।
कतिपय राजनीतिक विश्लेषकहरुले अहिले सडकमा देखिएको असन्तुष्टिले मात्रै राज्य व्यवस्थामाथि खतरा नहुने जिकिर गरेका छन् ।
सरकारले भने सडकमा देखिएको असन्तुष्टिलाई राजनीतिक कुण्ठा, सरकारविरुद्ध सुनियोजित विरोध र मृगतिष्णा भएको चित्रण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्