
काठमाडौं, मंसिर ३० । पशुपतिनाथको मन्दिर बुधबार (भोलि)बाट सर्वसाधारणका लागि पुनः खुला हुंदैछ ।
कोरोना महामारीका कारण झन्डै आठ महिनादेखि बन्द मन्दिरमा मंगलबार बिहान राष्ट्रपति विद्यादेवी झण्डारीले क्षमापूजा गर्नुभएको थियो ।
संक्रमणलाई ध्यानमा राखेर लामो समयसम्म मन्दिर बन्द गर्नुपरेका कारण क्षमा माग्न क्षमापूजा गरिएको हो ।
पशुपति क्षेत्र विकास कोषले बुधबारदेखि पशुपतिनाथको मन्दिर सर्वसाधारणणका लागि खुला गर्ने भएको छ ।
पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट पस्ने र निस्किने गरी दर्शनको व्यवस्था मिलाइएको छ ।
मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा स्वास्थ्य मापदण्डअनुसार मास्क लगाउनुपर्ने र सुरक्षाका नियम पालन गर्नुपर्ने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउनुहुन्छ ।
लामो समयपछि पशुपतिनाथको मन्दिर खुल्ने भएपछि सर्वसाधारणले खुसी व्यक्त गरेका छन् ।
लामो समयपछि मन्दिर खुल्दा दर्शनार्थीको भिड बढ्ने सम्भावना रहेकाले पशुपति क्षेत्र विकास कोषले नेपाल प्रहरी र सशस्त्र प्रहरीका १०० सुरक्षाकर्मी र स्थानीय क्लबका २५ जना स्वयंसेवक दैनिक परिचालन गर्ने जनाएको छ ।
मन्दिर खुलेपनि अहिले नै विशेष पूजा, परिक्रमा, भजनलगायत क्रियाकलाप भने गर्न नपाइने र भित्र प्रवेश गरिसकेपछि मौन बस्नुपर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्