
काठमाडौं, मंसिर ३० । चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ ।
मंगलबार मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले किसानको पैसा भुक्तानी नगरे कारबाही गर्ने बताउनुभएको हो ।
उद्योगीहरुसँगको भेटपछि मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले चिनी उत्पादक संघका अध्यक्षलाई किसानको भुक्तानी नदिए उद्योगीहरुलाई मन्त्रालयले कारबाही गर्ने जानकारी गराएको बताउनुभयो ।
प्रवक्ता रेग्मीले किसानका समस्या समाधानका लागि मन्त्रालय संवेदनशील भएको पनि बताउनुभयो ।
किसानलाई मन्त्रालयमा छलफलका लागि बोलाइएको तर नआएपछि फेरि पत्र दिएर छलफलमा आउन आग्रह गरिएको पनि उहाँले बताउनुभयो ।
चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले पनि उद्योगमन्त्री भट्टले हदैसम्मको कारबाही गरेर भएपनि किसानलाई पैसा दिलाउने कुरा राख्नुभएको बताउनुभयो ।
आफूले भने फेरि एकपटक पैसा भुक्तानीका लागि छोटो समय दिन आग्रह गरेको उहाँले बताउनुभयो ।
उखु किसानहरु उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आइतबारयता काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् ।
चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग किसानहरुको छ । उनीहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्