२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


दुग्ध वितरण आयोजनाले दूध किन्न छाडेपछि इलामका किसान मर्कामा, दैनिक १३ लाख घाटा


0
Shares

काठमाडौ । विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि समस्या पर्न थालेको छ ।

‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न बहानामा दुध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् ।

पछिल्लो एक सातायता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दुध लिन छाडेको छ ।

दूध बिक्न छाडेपछि विशेषगरी व्यावसायिकरूपमा गाईपालनमा लागेका किसानलाई समस्या भएको छ ।

विराटनगर आयोजनाले दैनिक सरदर ३० हजार लिटर दूध खरिद गर्छ । त्यसको ७५ प्रतिशतभन्दा बढी इलामबाट आपूर्ति हुने गरेको छ ।

आयोजनाले रसायनको अभाव देखाएर दूध खरिद नगर्दा इलामको किसानले मात्रै दैनिक १३ लाख रुपैयाँ भन्दा बढी नोक्सानी व्यहोर्नु परिरहेको छ ।

पूर्वको धनकुटा, तेह्रथुम, मोरङ, सुनसरीबाट पनि आयोजनाले दूध खरिद गर्दै आएको छ ।

एक हप्तादेखि आयोजना बन्द गरिएकाले पूर्वका किसानले एक करोड रुपैयाँभन्दा बढी नोक्सानी खेप्नु परिरहेको छ ।

आयोजना कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ ।