
-केदार कटुवाल/ईमेज:
उदयपुर । उदयपुरको चौदण्डीगढी नगर क्षेत्र बेलटारमा सौर्य उर्जा प्रणाली जडानपछि खानेपानीको आपूर्ति सहज बनेको छ ।
विद्युत्को अनियमितताबाट खानेपानीको समस्या भोगेका श्रीपञ्चमी खानेपानी आयोजनाका उपभोक्ताले सोलार सिस्टम जडानपछि सहज शुद्ध पानी पिउन पाएका हुन ।
सम्पवेलमा १५ किलोवाटको पम्प संचालन गरी प्रतिसेकेण्ड २० लिटर पानी १ हजार २ सय मिटर टाढा र ५० मिटर उचाइमा रहेको संकलन ट्यांकीमा झारिएको उपभोक्ता समितिका सदस्य राजेन्द्र पौडेलले बताए ।
२ हजार धारा जडान गर्ने लक्ष्य राखिएको आयोजनाले १ हजार ३ सय धारा जडिसकेको छ ।
३ करोड ५२ लाखको लागतमा ८ लाख क्षमताका चार वटा पानी संकलन टैंकी, ६० मिटर गहिरो सम्पवेल, कार्यालय भवन, अपरेटर भवन, पानी शुद्धीकरण प्रणालीलगायत काम सम्पन्न गरिएका छन् ।
७५ वटा सोलार प्यानल जडान र बिद्युतबाट पनि पम्प संचालन हुँदा अब बेलटारमा पानीको समस्या नरहेको खानेपानी डिभिजन प्रमुख रामकुमार श्रेष्ठ बताए ।
आयोजना संचालन हुनुभन्दा अगाडि खोलामा मुहान थापी पाइपबाट नगरक्षेत्रका घर घरमा पानी बितरण गरिएको थियो ।
बर्षामा पाइप बगाउने र हिउँदमा मुहान सुकेर पानी नआउने समस्याले नगरबासी बर्षैादेखि पीडित थिए ।
यस आयोजनाबाट २० हजारभन्दा बढी जनसंख्या लाभान्वित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्