१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अदालतको फैसलाविरुद्ध थरुहट मोर्चाले आन्दोलन गर्ने


0
Shares

काठमाडौं । उच्च अदालत दिपायलले गरेको फैसलाविरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको घोषणा गरेको छ । उच्च अदालत दिपायलले कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला गरेपछि मोर्चाले आन्दोलनको घोषणा गरेको हो ।

शुक्रबार धनगढीमा मोर्चाका संयोजक माधव थारुले अधिकारको आन्दोलनलाई राज्यले राजनीतिक पूर्वाग्रह राखी अपराधी बनाएको दाबी गर्नुभयो । सरकारले टीकापुर मुद्दालाई राजनीतिक रूपमा समाधान गर्नुपर्नेमा अपराधीकरण गरेको भन्दै मोर्चाले आन्दोलन गर्ने चेतावनी दिएको हो । यसअघि उच्च अदालत दिपायलले सांसद रेशम चौधरीको मुद्दामा जिल्ला अदालतकै फैसला सदर गर्दै जन्मकैदको सजाय सुनाएको हो ।

अदालतले चौधरीसहित सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालतको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि लक्ष्मण थारुलाई भने जिल्ला अदालत कैलाली धरौटीमा छोडेको थियो । लक्ष्मण थारु निर्णय विरुद्ध सर्वोच्च जाने तयारीमा छन् ।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा सांसद चौधरीसहित ५८ जनाविरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरिएको थियो । ०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो । अदालतको फैसलाविरुद्ध चौधरी उच्च अदालत गएका थिए ।

यस्तै तीन वर्ष सजाय काटेर रिहा भएका लक्ष्मण थारुलाई अदालतले जन्मकैजको सजाय सुनाइएको छ । जिल्ला अदालतले जन्मकैदको सजाय तोकेका सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियालाई जनही ५ वर्ष कैद सजाय सुनाएको छ । उच्च अदालतले तीन वर्ष जेल सजाय काटेर रिहा भएका संगम चौधरी दिलबहादर चौधरी र जितबहादुर चौधरीलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ ।

रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीलाई ५ वर्षको सजाय तोकिएको छ । उनीहरुले ३ वर्ष सजाय काटेर रिहा भएका छन् । ३ वर्ष सजाय पाएका विश्रम चौधरीसँगै रामनरेश चौधरी र रहावीर अलीले पनि सफाइ पाएका छन् । नाबालक करण चौधरीको हकमा ६ महिनाको कैद सजाय सदर गरेको छ । टीकापुर घटनामा ८ प्रहरीसहित एक नाबालकको ज्यान गएको थियो ।