१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अध्यादेश फिर्ता नलिए कडा कदम चाल्ने दाहाल–नेपाल भेलाको निष्कर्ष


0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिए कडा कदम चालिने बताउनुभएको छ ।

कोटेश्वरस्थित तत्कालिन माओवादी मूख्यालयमा आयोजित आफ्नो र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले पार्टी विभाजन गर्न विभिन्न क्रियाकलापहरू गर्दै आएको आरोप लगाउनुभयो । प्रधानमन्त्रीले पटक–पटक पार्टी विभाजन गर्न खोजेको र आफूहरुले रोक्दै आएको उहाँको दाबी छ । प्रधानमन्त्री ओलीले बारम्बार पार्टीको सहमति विपरित काम गरेको र पटक–पटक सहमति तोड्ने दाहालको आरोप छ ।

बालुवाटारमा भेट गर्दा अध्यादेश फिर्ता लिने, सहमति र छलफल अनुसार सबै काम अगाडि बढाउनेलगायतका प्रतिवद्धता जनाएको तर त्यसको एक घण्टा नवित्दै ती सबै प्रतिवद्धता विपरित प्रस्तुत भएको गुनासो पनि दाहालले गर्नुभएको थियो ।

भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको प्रवृत्ति नै अरुलाई धोका दिने र अपमान गर्ने रहेको आरोप लगाउनुभयो । पहिले आफूलाई अपमान गरेका ओलीले पछिल्लो समय कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि त्यसै गरेको नेपालको भनाइ थियो । सहमति गरेर उठ्यो, भोलिपल्टै होइन भन्ने ओलीको चरित्र बनेको नेता नेपालको आरोप थियो । सबै नेतालाई पालैपालो धोका दिने, झुटो आश्वासन दिने भएकैले नयाँ समीकरण बनेको भन्दै उहाँले धोका पाउने र अपमानित हुनेहरु एक ठाउँमा उभिएको हो भन्नुभयो ।

कुनै हालतमा पार्टी विभाजन हुन नदिन आफूहरु लड्ने भन्दै नेता नेपालले भेलाका सहभागीहरुलाई तल्ला तहमा लड्न आग्रह गर्नुभयो । भेलामा प्रदेश १ का जिल्ला अध्यक्ष, सचिव र राजधानी उपत्यकामा रहेका सो प्रदेश सम्वद्ध केन्द्रीय सदस्यहरु सहभागी थिए ।