
कोरोनाका बारेमा अब केही भनी रहनु परेन । कोरोना कहरको वैश्विक समस्याले पारेको असर बिस्तारै परिणाम देखाउन थाल्नेछ । करिब एक वर्ष भयो कोरोनाको कहरले संसार ग्रस्त भएको । यसले पारेको धेरै ठाउँका प्रभावहरुमध्ये शिक्षामा पारेको प्रत्यक्ष प्रभावले भावी पीँढीसमेत आक्रान्त भएको छ । बाल बालिका तथा किशोरहरुको प्रत्यक्ष छलफल गरेर पढ्ने, सिक्ने, पढाउने र सिकाउने चलनमा एक वर्षदेखि नै पूर्ण विराम लागेको छ । विभिन्न तरिकाले पढ्ने पढाउने चलन सँगै वैकल्पिक तरिकाले विद्युतीय माध्यमबाट सिकाउने चलनले यसपटक केही प्रतिशत बालबालिकाहरुको पढाइ चलेको हो तर त्यसले यसकारणले पूर्णता पाउन सकेन , किनभने सबैसँग विद्युतीय माध्यमबाट छलफल गर्ने, अन्तक्र्रिया गर्ने , सामग्री सञ्चित गर्ने प्रविधि र साधन थिएन । सायद त्यसैलाई नै डिजिटल डिभाइड भनिएको होला ।
नेपालको शैक्षिक समय तालिकामा वैशाखदेखि शैक्षिक सत्र सुरु गरिन्छ तर हिमाली भेगमा फागुनदेखि सुरु गरिन्छ । २०७६ सालको चैत्रको पहिलो हप्ताको सुरुमा नै शिशु कक्षादेखि कक्षा ९ सम्मको परीक्षा एकहप्तामा समाप्त गरेर चैत्र ६ गतेदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईइ )रोकिएको थियो र मुलुकभर चैत्र ११ देखि नै लकडाउन गरिएको थियो ।
त्यसपछि अहिलेसम्म कक्षा कोठाहरु खालि नै छन् । बिचमा विद्यालयहरुलाई नै क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । कक्षा १० को परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा, कक्षा ११ र १२ को विद्यालयसँगै समन्वय गरी परीक्षा लिने काम सम्पन्न भएको छ । विश्व विद्यालयहरुको रोकिएको परीक्षा धमाधम हुँदै छन् । र पनि साक्षात्कार गरेर कक्षा सञ्चालन गर्ने अवस्था अझै देखिएको छैन ।
कोरोनाको दोस्रो लहरले युरोपमा लकडाउन धमाधम गरिँदैछ एकातिर भने विकसित र धनी देशहरुमा कोरोनाको खोप पनि दिन थालिएको छ । खोप पनि १५ वर्षमाथिको उमेरका लागि मात्र प्रयोगमा ल्याइएको छ किनभने उत्पादनकर्ताले नै खोप १५ वर्षमाथिका किशोर, वयस्क र प्रौढहरुलाई मात्र लगाउने भनेर सीमितता देखाइएको छ । अर्थात् विश्वभर विद्यालयका शिक्षकहरुले खोप लिन सक्ने होलान् तर कक्षा १० सम्मका विद्यार्थीहरुले खोप लगाउन पाउने छैनन् । त्यसो भए ती विद्यार्थीहरु सुरक्षित हुने कि नहुने त कोभिड—१९को प्रकोपबाट ? अझै विश्व स्पष्ट छैन । नेपाल त झन स्पष्ट हुने कुरै भएन ।
प्राप्त तर अपुष्ट जानकारी अनुसार चीनमा समेत पढाइ सुचारु भएको पाइँदैन जवकि कोरोनालाई नियन्त्रणमा लिएको भनेर विश्व स्वास्थ्य संगठनले चीनलाई पहिले नै वधाइ दिएको थियो ।
विकसित देशहरुमा साना साना नानी बाबुहरुका कक्षाहरु सुचारु गरिएका छन् तर माथिल्ला कक्षाहरुका लागि वैकल्पिक माध्यमबाट पढाउने काम जारी छ । मेरा अमेरिकामा रहेका भान्जा भान्जी तथा अरु नातेदारहरुका बच्चाहरुका लागि सोधिएको थियो रे—वैकल्पिक माध्यमबाट विद्युतीय उपायमा पढाउने कि ? साक्षात्कार गरेर कक्षा लिन लगाउने ? सायदै कुनै बाबुआमाले भने होलान्—कोरोना कहरमा पनि हामी कक्षामा नै पठाउँछौँ । तर मेरी ३ वर्षकी नातिनी अदिति सापकोटा भने नर्वेको शिशु विद्यालयमा जुलाई देखि नै गइरहेकी छिन् । तर ठुला कक्षाहरुको भने पढाइ विद्यालयमा गर्न हिम्मत अझै गरिएको पाइँदैन त्यहाँ पनि ।
विश्वमै साना साना बच्चाहरुका लागि विद्यालयमा तरिका पुर्याएर कक्षा लिइएको पाइन्छ तर ठुला कक्षाहरुका लागि भने अन्यौल कायम छ । त्यसैले खोपको प्रयोग हुँदासमेत, वृद्ध, स्वास्थ्यकर्मी, प्रहरी, सेना र शिक्षकहरुलाई खोप उपलब्ध गराउने ठाउँमा समेत विद्यालय कहिलेदेखि खोल्ने भन्ने निश्चित हुन सकेको छैन । नेपालमा पनि त्यो कुरो लागू हुन्छ । हामीले त कहिले हो , खोप पाउने ? खोप ल्याउने कुरो नै सुरु गरिएको छैन । अनुदानमा कहिले आउने हो ? त्यो पनि थाहा छैन । आइहाले पनि भण्डारण गर्ने समेत ठाउँ छैन । ल्याएर प्रयोग गराउने कुराको कुरो त कहाँ हो कहाँ ? आम समुदायमा खोपको पहुँच अझै आकाशको फल जस्तै छ ।
तर कुरो त फेरि अब विद्यालय कहिलेदेखि खोल्ने भन्ने आएको छ । कक्षा ११ र १२ का परीक्षाहरु विद्यालयको समन्वयमा भएजस्तै कक्षा १० को पनि त्यसै गर्ने हो त ? तर कुरो के भने कक्षा १ देखि कक्षा १० सम्म औपचारिकरुपमा त भएकै छैन । कक्षा ११ पनि अनौचारिकरुपमा भएका होलान् तर औपचारिकरुपमा भएकै छैन । कसकसले वैकल्पिक माध्यमबाट केके जानकारी लिए भन्ने पनि हामीसँग कुनै तथ्याङ्क छैन । लकडाउनसँगै विद्यार्थीहरु कता छन् भन्ने पनि हामीसँग कुनै जानकारी छैन । कति विद्यार्थीहरुले कुन कुन विद्यालयमा अध्ययन गरेका छन् भन्ने पनि केही आधारभूत जानकारी छैन । यो अन्यौलपूर्ण अवस्थामा पनि समय त बगिरहेको छ, विद्यार्थीहरुका लागि सोच्ने काम गर्नु नै परेको छ । सधैँ झैँ चैत्र ६ गते वा हाराहारीमा लिइने माध्यमिक परीक्षाको (एसईइ) कुरा आउन थालेको छ । कक्षा ९ जसरी पास गरेको भनेर हामीले मान्यौँ, त्यसैगरी कक्षा १० पनि समाप्त हुने बेला भयो समयका कारणले तर तिनको वारेमा हामीले अहिलेसम्म कुनै जानकारी लिन र दिन सकेका छैनौँ किनभने कोरोनाको कहरले छोडेको छैन अझै ।
मेरो विचारमा प्रत्येक विद्यालयसँग अब तथ्याङ्क संकलन गर्नु आवश्यक भएको छ । विद्यार्थीहरुको उमेरलाई अब हामी पछिल्तिर फर्काउन सक्दैनौं र भावी दिनको प्रगतिलाई पनि बाँधेर राख्न सक्दैनौँ । अहिले कक्षा ११ , १२ र विश्वविद्यालयहरुका सबै खालका सेमेस्टर तथा वार्षिक परीक्षाहरु हुँदैछन् किनभने ती रोकिएका थिए , पढाइ सम्पन्न भएर । तर कक्षा १० र त्योभन्दा मुनिका कक्षाहरु त खुलेकै छैनन् ।
हो यही बेलामा हो, राज्यले बुद्धिजीवीहरुसँग सल्लाह लिने, अभिभावकहरुसँग सल्लाह गर्ने र विद्यार्थीहरुको भावी पीँढीका लागि ठोस निर्णय लिने र अरु देशहरुको पनि अनुभवलाई आधार बनाएर निर्णय गर्ने । यस्तै बेलामा हो शिक्षाविद्हरुले आफ्नो अनुभवलाई बाँडचुँड गरेर भावी पुस्ताको समय पनि बर्बाद हुन नदिने अनि गुणस्तरीय जनशक्तिको पनि ह्रास हुन नदिने । कसरी सम्भव होला त ?
केही उपायहरु यस्ता हुनसक्छन्
क) पोहोरको कक्षाहरुको तथ्याङ्कका आधारमा कक्षा १ देखि कक्षा १० सम्मको संख्या निरुपण गर्ने ।
ख) उमेरका आधारमा कक्षा लाग्ने बेलामा अघिल्लो कक्षाका लागि तयारी हुन सार्वजनिक सञ्चारका माध्यमबाट जानकारी दिने, सम्बन्धित विद्यालयहरुले स्थानीयस्तरमा जानकारी दिने र कक्षा सुरु हुनेबेलाका लागि तयारी बस्नका लागि प्रेरित गर्ने ।
ग) कक्षा १ देखि कक्षा ११ सम्म विद्यालयका आन्तरिक कक्षाहरु हुन् , कक्षा १२ मात्र माध्यमिक विद्यालयको अन्तिम कक्षा हो, त्यसको परिणाम चाहिँ अभिलेखीकृत हुनु अनिवार्य छ किनभने त्यो मानक परिणाम हो । त्यो प्रमाणपत्र देखाएर अरु ठाउँमा पनि पढ्ने आधारभूत प्रमाणपत्र हो । त्यसैले विद्यालयको आवधिक शैक्षिक तथ्याङ्कीय जानकारीले मात्र यो संभव छ ।
घ) सधैँ सकिँदैन भनेर मात्र हुन्न । विद्यालय , विद्यार्थी र शिक्षकहरुलाई प्रविधिमैत्री बनाउन पनि अब लगानीको जरुरत छ । दूर सञ्चारको प्रगतिले नै आजको डिजिटल डिभाइडलाई हटाउन त्यो कमी सबैको पहुँचमा पुर्याएर मात्र सेवा सम्भावना भित्र आउन सक्छ ।
ङ) अझै विद्यालय खोल्ने जमर्को नगरौँ । यदि साना साना बच्चा र किशोरहरुमार्फत कोरोनाको सरुवा स्वरुप संग्रालियो र समुदायमा फेरि विस्तारित भयो भने र समुदायमा व्यापक प्रसारित भयो भने धेरै नै जनधनको क्षति हुनेछ ।
च) जसरी हुन्छ, कक्षा १२ सम्मको अवस्थालाई विद्यालयको नियन्त्रणमा ल्याउन सक्यौँ र समाजको चित्त बुझाएर अघि बढ्न सक्यौँ भने एक वर्षभित्र त पक्कै नयाँ नयाँ तरिका पनि अपनाउन सकिएला या भनौँ कोरोना पनि नियन्त्रणमा आउला ।
छ) माथिका सुझावहरुको समष्टिमा एउटै परिणामको अपेक्षा राखिएको हो —कक्षा १० को परीक्षा लिन नैतिकताका आधारमा पनि गाह्रो छ किनभने हामीले पढाएका नै छैनौँ । त्यसैले पोहोरको कक्षा ९ को आधारमा १० बाट ११ मा जानका लागि बाटो खोलौँ । यदि यसका लागि आवश्यक परे शिक्षा ऐन , नियममा सुधार गरौँ र भावी पीँढीको समयलाई खेर जान नदिऔं ।
ज) यसका लागि बृहद् शैक्षिक समन्वयको व्यवस्था गरौँ, भर्चुअल तरिकाले, अरु देशको पनि अनुभवलाई सँगालौँ ।
झ) आफ्ना आफ्ना विद्यार्थीहरुको यथार्थ अभिलेख राख्न विद्यालयहरुलाई अभिप्रेरित गरौँ ।
ञ) सरकारी सहयोग पाउने बाहेकका निजी, संस्थागत तथा गैर नाफामूलक धार्मिक विद्यालयहरुलाई पनि यो वर्षका लागि शिक्षकहरुको पारिश्रमिक उपलब्ध गराऔँ र अभिभावकहरुको गाह्रो साँघुरोमा सरकारले मद्दत गरौँ किनभने विद्यार्थीहरु हाम्रै सन्तान हुन्, यदि ती सरकारी अनुदान प्राप्त विद्यालयमा अभिलिखित भएका भए त हामीले खर्च बेहोरेका नै हुन्थ्यौँ । यसरी सम्पूर्ण विद्यालयहरुको अभिभावकको रुपमा सरकारले आफ्नो भूमिका विस्तार गरेको खण्डमा मात्र सरकारका आदेशहरु मान्न भोलि पनि ती विद्यालयहरु बाध्य हुनेछन् ।
ट) आजको वारेमा छलफल गर्दा भोलिको परिणामलाई ध्यान दिऔँ र शिक्षाको नयाँ मानक तयार गरौँ ताकि भोलिको कुनै पनि समस्यालाई समाधान गर्न सक्ने जनशक्ति तयार गर्न सकियोस् ।
अन्त्यमा, एसइइ का लागि धेरै चिन्ता नगरौँ र पोहोरको कक्षा ९लाई स्वतः कक्षा ११मा जान र पोहोर कक्षा १० उत्तीर्ण गर्नेलाई १२को तयारी गर्न प्रेरित गरौँ । हामीले उदार कक्षोन्नति र निरन्तर मूल्याङ्कन प्रणालीलाई सिद्धान्ततः लागू गरेका हौँ तर अब प्रयोगात्मकरुपमा नै व्यवहारमा ल्याउने बेला आएको छ । उमेर, अनुभव र समयलाई एउटै प्याकेजमा राखेर शिक्षा प्रणालीलाई कार्यान्वयन गर्ने बेला आएकै हो ।
प्रतिक्रिया दिनुहोस्