
काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सले पहिलो चरणमा किसानको खातामा रकम पठाउन सुरु गरेको छ ।
मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय बाणिज्य बैंकबाट किसानको खातामा पैसा पठाउन सुरु गरेको हो ।
बिहिबार र शुक्रबार गरी उद्योगले किसानको बक्यौतामध्ये कूल ३१ करोड ९१ लाख रुपैयाँ बैकमा जम्मा गरेको छ ।
सो रकम मध्ये शुक्रबार ७ करोड ७३ लाख रुपैयाँ विभिन्न शाखाबाट किसानको खातामा जम्मा भएको राष्ट्रिय बाणिज्य बैंक गरुडा शाखाले जनाएको छ ।
आर्थिक वर्ष २०७१/०७२ देखि २०७५/०७६ सम्म किसानले दिएको उखुको कूल ४१ करोड रुपैयाँ बक्यौता रहेको उखु उत्पादक किसान संघ रौतहटले जनाएको छ ।
किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघको नेतृत्वमा किसानहरुले श्रीराम सुगर मिल्सका सञ्चालकमाथि बुधवार ठगी मुद्दा दायर गराएका थिए ।
४६ जना उखु किसानहरुले सयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराएपछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
सरकार र उखु किसानबीच गत वर्ष पुष १८ गते पांच बुंदे सहमति भएपनि १ वर्ष सम्मपनि भुक्तानी नपाएपछि उखु किसानहरु काठमाडौंमा आन्दोलनमा छन् ।
प्रतिक्रिया दिनुहोस्