१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली र दाहालबीच डेढ घण्टा छलफल


0
Shares

काठमाडौं । आन्तरिक विवाद चर्किएको बेला नेकपाका दुई अध्यक्षबीच खुमलटारमा डेढ घण्टा छलफल भएको छ । खुमलटारस्थित प्रचण्ड निवासमा दुई नेताबीच वार्ता चलिरहेकै बेला उपाध्यक्ष वामदेव गौतम पनि छलफलमा पुग्नुभएको थियो ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहाल प्रचण्डबीच पछिल्लो समय तिक्तता बढेको छ । ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रचण्ड निवासमा पहिलो पटक जानुभएको हो । संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता गर्ने गत बुधबारको सहमति पालनामा प्रधानमन्त्रीले आलटाल गंिररहँदा दुई अध्यक्षबीच शनिबार भेटवार्ता भएको हो ।

भेटमा उपाध्यक्ष गौतम पनि सहभागी हुनुले भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हिजै मात्र प्रचण्ड–नेपाल पक्षले प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गरी ओलीमाथि दबाब बढाएका थिए । भेलामा अध्यादेश फिर्ता नलिए ‘एक्सन’ लिने चेतावनी प्रचण्डले दिनुभएको थियो ।

गत बुधबारको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रचण्ड–नेपाल समूहले विशेष अधिवेशन आह्वानको हस्ताक्षर फिर्ता गर्ने सहमति भएको थियो । तर, सहमतिको २४ घण्टा नबित्दै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनु भएको थियो । प्रचण्डको दबाब पछि ओली परिषद्को बैठक रोक्न बाध्य हुनु भएको थियो ।