१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टी विवादका बीच प्रधानमन्त्रीको भेटघाट कति अर्थपूर्ण ?


0
Shares

काठमाडौं । पार्टीमा झाङ्गिएको विवादका बीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटलाई तीब्रता दिनुभएको छ । शनिबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुग्नुभएका ओलीले त्यहीँ उपाध्यक्ष बामदेब गौतमलाई पनि भेट गर्नुभएको छ । ओली र दाहालको छलफलको क्रममा बामदेव पुगेपछि उहाँ पनि छलफलमा सहभागी हुनुभएको हो ।

करिब डेढ घण्टाको छलफलपछि बाहिरिनुभएका प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री क्वाटरमा पसेर नेकपा सचिवालय सदस्य समेत रहनुभएका गृहमन्त्री रामबहादुर थापासँग पनि भेटघाट गर्नुभएको छ । छलफलकै क्रममा त्यहाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी हुनुभएको थियो ।

पार्टीमा विवाद बढिरहेको बेला प्रधानमन्त्रीको पछिल्लो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसरी राजनीतिक भेट बाक्लिदाँ राजनीतिक वृत्तमा प्रधानमन्त्रीले ठूलै निर्णय लिनसक्ने अनुमान गरिएको छ । यद्यपि केही राजनीतिक जानकारले भने नेकपा विवाद पुनः केही समय मथ्थर हुने विश्वास गरेका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली पहिलोपटक खुमलटार पुग्नुभएको हो । उहाँ यसअघि २०७४ मा दाहाललाई भेट्न खुमलटार जानुभएको थियो ।

शुक्रबार पूर्व माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा भएको भेलालाई सम्बोधन गर्दै दाहालले ओलीले आफूलाई पटक–पटक झुक्याएको र ‘रबर स्ट्याम्प’ बनाएको बताउनुभएको थियो । दाहाल आफूप्रति चिडिएको थाहा पाएपछि ओली शनिबार खुमलटार पुगेको हुनसक्ने अनुमान गरिएको छ ।