
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित मन्त्रीहरूको सरकारी निवासमा पाँच जना मन्त्रीहरूसँग भेटघाट गर्नुभएको छ ।
बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुग्नुभएका ओली त्यसपछि पुल्चोकस्थित गृहमन्त्री रामबहादुर थापाको सरकारी निवासमा पुग्नुभएको थियो ।
गृहमन्त्रीसँगको छलफलमै क्रममा त्यहाँ पाँचजना मन्त्रीहरू जम्मा हुनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसलाई आकस्मिक भेट भन्नुभएको छ । उहाँले मन्त्रीहरूसँग प्रधानमन्त्रीले छलफल गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘मन्त्री निवास, पुल्चोकमा आकस्मिक भेट !’ भन्नुभएको हो ।
छलफलमा गृहमन्त्री थापासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कानुनमन्त्री शिवामाया तुम्बाहाङ्फे र भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्याल सहभागी हुनुहुन्छ ।
पार्टीमा विवाद बढिरहेको बेला प्रधानमन्त्रीको पछिल्लो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसरी राजनीतिक भेट बाक्लिदाँ राजनीतिक वृत्तमा प्रधानमन्त्रीले ठूलै निर्णय लिनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्