
काठमाडौं । पार्टी विवाद दुर्घटनातर्फ उन्मुख बन्दा नेकपाका दुई अध्यक्षबीच प्रचण्ड निवास खुमलटारमा शनिबार छलफल भएको छ ।
प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी ओली शर्मा ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच चुलिएको तिक्ततालाई कम गर्न महत्वपूर्ण मानिएको बैठक भने निष्कर्षविहीन बनेको छ ।
यसअघि पार्टीमा विवादले उग्ररुप लिँदा शितलनिवासको ढोका ढकढकाउने ओलीले स्थायी किमिटी बैठक बस्ने अघिल्लो दिन ‘यू टर्न’मार्दै खुलमटारको यात्रा तय गर्नुभएको छ ।
उपाध्यक्ष बामदेव गौतम समेतको उपस्थितिमा करिब एक घण्टा चलेको बैठकमा ओलीको बटमलाइन स्थायी कमिटी बैठकमा प्रस्तुत दस्तावेज फिर्ता लिनुपर्ने थियो ।
तर, प्रचण्डले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरिदिनुभयो । आइतबार बस्ने स्थायी कमिटी बैठकमा आफू थप समस्या पर्ने बुझेपछि आफूविरुद्ध प्रस्तुत १९ पृष्ठ लामो ‘प्रतिवेदन’ खारेज गर्न भन्दै ओली खुमलटार पुग्नुभएको हो ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओली पहिलो पटक प्रचण्ड निवासमा टेक्नु भएको हो ।
राजनीतिक वृत्तमा ओलीको यो कदमलाई पार्टीमा आफ्नो पद र शक्ति जोगाउने नयाँ रणनीतिको रूपमा व्याख्या भइरहेको छ । जसलाई प्रचण्डको सचिवालयले भने सामान्य भनेको छ ।
खुमलटार संवादले निष्कर्श ननिकाले पनि प्रचण्डले तत्कालै त्यसको ब्रिफिङ माधव नेपाललाई गरिसक्नुभएको छ ।
यता, नयाँ अस्त्र प्रभावकारी नभएपछि खुमलटारबाट ओली सिधै सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न पुल्चोकस्थित मन्त्री निवास पुग्नुले पनि ओलीको नयाँ रणनीति केही छ भन्ने देखाउँछ ।
थापासहित अन्य मन्त्रीहरुसँगको ओलीको छलफल अर्थपूर्ण रूपमा हेरिएको छ । किनभने आइतबार बस्ने भनिएको स्थायी कमिटी बैठकले अध्यक्षद्वयका १९ पृष्ठ र ३८ पृष्ठ लामो दस्तावेजमाथि छलफल गरेर निचोड निकाल्ने कार्यसूची छ ।
घटनाक्रमकै बीच नेपाल निकट स्थायी कमिटी सदस्य भीम रावलको ट्वीटले अर्को बहस सिर्जना गरिदिएको छ ।
‘बिहान प्रम केपी ओलीजी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ । बामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ । हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि ? नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो । सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ ।’, रावलले ट्वीटमा भन्नुभएको छ ।
पार्टीमा जब–जब विवाद बढ्छ ओली शितलनिवास धाउने गर्नुभएको थियो । राष्ट्रपति संस्थालाई समेत विवादमा तान्नु भएका ओलीको खुमलटार यात्राले स्थायी कमिटी बैठक अगावै गलेको हो कि भन्ने प्रश्न जन्मिनु स्वभाविक छ ।
पछिल्लो समय हतारमा ल्याएको अध्यादेश प्रकरणले व्याक फायरमा पर्नुभएका ओलीलाई चाँडै समस्या समाधान नगर्ने हो भने १० गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठक फेस गर्न सहज हुने छैन ।
प्रतिक्रिया दिनुहोस्