
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले प्रतिनिधि सभा विघटन नभएको बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा उपस्थित भएका सांसदहरूले प्रतिनिधि सभा विघटन नै नभएको प्रतिक्रिया दिएका हुन् । नेकपाका बरिष्ठ नेता तथा सांसद झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नै नदिएको अधिकार दुरुपयोग गरेको भन्दै संसद बैठकका लागि संवैधानिक अभियान चलाउने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘वर्तमान संविधान बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्दैन । यो संविधान विरोधी कुरा हो । त्यसको विरोध गरेका छौँ । अब हामी संवैधानिक तथा राजनीतिक अभियान चलाउँछौँ । संविधानको विरुद्ध कु गरिएको छ । हामी सर्वोच्च नी जान्छौँ । संसदको बैठक आयोजना गर्ने हाम्रो ध्येय छ ।’
यस्तै नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले आफू अल्पमतमा परेपछि अलोकतान्त्रिक र संविधान बिरोधी निर्णय गर्नुभएको बताउनुभयो । उहाँले संसद विघटन भएको नठानिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रतिनिधि सभा बिघटन गर्ने निर्णय असंंवैधानिक हो । संविधानमा कुनै प्रावधान छैन । त्यो अधिकार प्रधानमन्त्रीको हातमा छैन । उहाँ अल्पमतमा परेको अवस्थामा यो निर्णय अलोकतान्त्रिक, निरंकुश तरिका अबलम्बन गरिएकोले घोर बिरोध एवं भत्र्सना गर्दछौँ । संसद विघटित भएको ठान्दैनौँ ।’
सांसद पम्फा भुसालले नेकपा संसदीय दलका बहुमत सदस्य संसद विघटनको विपक्षमा रहेको बताउनुभयो । संविधानको व्याख्याता सर्वोच्च अदालतबाट न्यायिक निरुपण हुने भुसालको विश्वास छ । उहाँले भन्नुभयो ‘संविधानको व्याख्याता सर्वोच्च अदालत हो । संविधानको कुनैपनि धारामा विघटन बारे छैन । सर्वोच्च अदालतमार्फत न्यायिक बाटो अबलम्बन गर्छौ । न्यायपालिका तर्फ हामीलाई विश्वास छ ।’
सांसद शशी श्रेष्ठले प्रतिनिधि सभा विघटन नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘संविधान माथिको कु हो यो । प्रतिनिधि सभा विघटन भएको छैन ।’ नेकपाका प्रचण्ड–माधव नेपाल समुहका सांसदहरुको सोमबार भएको भेलाले प्रतिनिधि सभा बैठक बोलाउन माग समेत गरेको छ । बैठक नबोलाइए कानूनी प्रक्रिया अघि बढाइने पनि सांसदहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्