
काठमाडौं । बामपन्थी नेता राधाकृष्ण मैनालीले महाकाली संधीपछि प्रधानमन्त्री केपी ओलीमा जंगली महत्वाकांक्षा पलाएको आराेप लगाउनुभएकाे छ ।
नेता मैनालीले महाकाली संधी अघि सामान्य अवस्थामा रहेका ओलीमा त्यसपछि भने जंगली महत्त्वाकांक्षा पलाएको बताउनुभयाे ।
ईमेज टेलिभिजनसँगको कुराकानीमा नेता मैनालीले ओली महाकाली संधीपछि गुटको नेताभन्दा माथि उठ्न नसकेको टिप्पणी गर्नुभएकाे छ ।
‘झुटको पुलिन्दामा रमाउने ओलीले पछिल्लो समय गुटको कुरा सुन्दा प्रतिनिधि सभा विघटनको अवस्था आएको हाे,’ उहाँले भन्नुभयाे, ‘स्वेच्छाचारी प्रवृत्तिका उनले पार्टीका निर्णयहरू नमान्दा याे अवस्था आयाे ।’
ओलीको महत्वाकांक्षा र सत्ता स्वार्थका कारण प्रतिनिधि सभा विघटन भएकाले यसको मुख्य जिम्मेवारी उहाँले नै लिनुपर्ने नेता मैनालीको तर्क छ ।
यद्यपि पुष्पकमल दाहाल र माधवकुमार नेपालले पनि यसमा दाेषी रहेकाे उहाँकाे भनाइ छ ।
ओलीले आाफू प्रधानमन्त्री हुनकै लागि जन्मिएको र बाचुन्जेल प्रधानमन्त्री हुन्छु भन्ने सोच राखेको नेता मैनालीको तर्क छ ।
‘उनको महत्वाकांक्षा बाचुन्जेल प्रधानमन्त्री बन्ने हो,’ उनले भने, ‘यस्ता गलत महत्वाकांक्षाले मानिसलाई जस्तोसुकै निर्णय गर्न बाध्य बनाउँछ ।’
हिरो हुन्छु भन्ने सोच बोकेका ओली अहिलेको अवस्थामा जिरो भएको उहाँको टिप्पणी छ । देश अस्थिर अवस्थामा गएकाले अब कुनै पनि दलले स्पस्ट बहुमत नल्याउने मैनालीकाे आँकलन छ ।
‘अब हुने निर्वाचनमा नेकपाले स्पस्ट बुहमत ल्याउँदैन,’ उहाँले भन्नुभयो, ‘ओली, नेपाल र दाहाल कुनै पनि पक्षले स्पस्ट बहुमत ल्याउने अवस्था छैन ।’ अन्य दलकाे पनि बहुमत आउने स्थिति अत्यन्तै कमजाेर रहेकाे उहाँकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्