१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुई चिरा भएको नेकपाको आधिकारीकता टुंगो निर्वाचन आयोगले लगाउने, यस्तो छ व्यवस्था


0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले आ–आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक आयोजना गरेसँगै कुन समूहले आधिकारीकता पाउने भन्ने विषय अन्योल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले नेकपाको आधिकारिकता आफूहरुसँग भएको दाबी गरेका छन् ।

यस्ता विवादको निरुपण यसअघि निर्वाचन आयोगबाट हुने गरेको थियो । दुवै पार्टीले एउटै नाम दाबी गर्दा वैधानिक को भन्ने विषयमा निर्णय आफूहरुले गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

यो चाहिँ त्यति बेला सम्बन्धित समूहले पेस गरेका कागजात र राजनीतिक दल सम्बन्धी ऐनले व्यवस्था गरेको आधारमा निर्णय लिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

आयोगका अनुसार पार्टीको नाम र झण्डालगायत कायम राख्न केन्द्रीय सदस्यको बहुमत हुनुपर्ने कानुनी व्यवस्था छ ।

तर त्यस्तो निर्णय गर्दा आयोगले केन्द्रीय सदस्यको संख्या बाहेकका अन्य प्रावधान पनि हेर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

हिजो बसेको ओली समूहले बैठकले पार्टीको ४४७ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको भन्दै १,१९९ सदस्य रहने निर्णय गरेको थियो ।

दाहाल–नेपाल पक्षले भने हिजो नै आफूहरूले गरेको बैठकमा ३१५ जना केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति रहेको दाबी गरेको छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा दलको मान्यता सम्बन्धी विवादको निरूपण निर्वाचन आयोगबाट हुने व्यवस्था गरिएको छ ।