१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आधिकारिक धारणा तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक आज पनि


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि सडक संघर्षमा जाने वा निर्वाचनको समर्थन गर्ने भन्ने धारणा तय गर्न सुरु भएको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।

दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा संसद विघटन गरेपछि उक्त घटनालाई लिएर सडक आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा काँग्रेसले आधिकारीक धारणा बनाउन सकेको छैन ।

हिजो सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरु दुई धारमा बाँडिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सडक संघर्ष गर्नुपर्ने आवाज उठाएको छ भने सभापति शेरबहादुर देउवा पक्षले भने आन्दोलनको औचित्य नभएको भन्दै मध्यावधि निर्वाचन स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राखेको छ ।

बैठकमा सभापति देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले भने संसद पुनःस्थापनाको आन्दोलनले कांग्रेसको लागि चुनौती लिएर आउने धारणा राख्नुभयो ।

उहाँले संसद पुनः स्थापना भए नेकपा विभाजन हुने र कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाउने भएकाले सडक आन्दोलनबाट संसद पुर्नस्थापनामा गराउनु भन्दा मध्यावधि निर्वाचनमै जानु पर्ने धारणा राख्नु भएको थियो ।