१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अविश्वासको प्रस्ताव साढे ३ बजे दर्ता भएको संसद सचिवालयको प्रस्टीकरण


0
Shares

काठमाडौं । संघीय संसद सचिवालयले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पुस ५ गते दिउँसो साढे ३ बजे दर्ता भएको प्रस्ट पारेको छ । अविश्वासको प्रस्ताव दर्ता गरिएको समयको विषयमा विभिन्न मिडियाबाट भ्रम फैलाइएकाे भन्दै संसद सचिवाललय दिउँसो साढे ३ बजे प्रस्ताव दर्ता भएको जानकारी दिएकाे हाे ।

प्रवक्ता डा. रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अविश्वासको प्रस्ताव प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू समक्ष पेश गरी कार्यव्यवस्था शाखामा दर्ता हुने प्रचलन रहेको र २०७७ पौष ५ गतेका दिन पनि सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी विधिवत् रूपमा पेश भई सम्माननीय सभामुखज्यूको तोक आदेशपछि सोही दिन अपरान्ह ३ः३० बजे कार्यव्यवस्था शाखा (प्रतिनिधि सभा)मा दर्ता भएको हो ।’

पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । प्रधानमन्त्री पक्षले अविश्वासको प्रस्ताव पेश भएपछि आफूले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको दावी गर्दै आएकाे छ । सञ्चारमाध्यममा बिहान १०ः५० मा अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै तस्बिरसहितका समाचार प्रकाशित भएपछि संसद सचिवालयले प्रस्ट पारेकाे हाे ।