२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कामदार इजरायल पठाउन प्रोटोकल तयार, हस्ताक्षर हुन बाँकी


0
Shares

काठमाडौं । सरकारले जी टु जी प्रक्रियामार्फत इजरायलमा कामदार पठाउन प्रोटोकल तयार पारेको छ । गत असोज १४ गते नेपाल र इजरायलबीच भएको श्रम सम्झौता अनुसार ५ सय नेपाली केयर गिभरका लागि इजरायल पठाउन दुवै पक्षले हस्ताक्षर गर्न मात्रै बाँकी रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो ।

श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागले तयार पारेको प्रोटोकलमा दुवै पक्षबाट हस्ताक्षर भएपछि केभर गिभरका लागि श्रमिक लैजान विज्ञापन गरिने छ । सोही अनुसार कामदारले रोजगारीका लागि आवेदन दिन सक्ने छन् । सम्झौता अनुसार ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष केयर गिभर इजरायल जानेछन् । यसरी जाने केयर गिभरले त्यहाँका स्याहार केन्द्रहरूमा काम गर्नेछन् ।

उनीहरूको न्यूनतम तलब १५ सय डलर हुनेछ । त्यसमध्ये ३१० डलर खाना र आवास सुविधाबापत रोजगारदाताले कटौती गर्नेछ । इजरायल जानका लागि एसएलसी पास गरेका कामदारले १५ महिने केयर गिभर सम्बन्धी तालिम लिएको हुनुपर्ने तथा कक्षा १२ पास गरेकाले ३ महिने तालिम लिएको २५ देखि ४५ वर्ष उमेर समुहका अंग्रेजी र हिब्रु भाषा जान्ने व्यक्ति जान पाउनेछन् ।

सम्बन्धित कामदारले टिकट खर्च, मेडिकल, तालिम, बीमा तथा कल्याणकारी कोषमार्फत लाग्ने रकम कामदार स्वयमंले व्यहोर्ने व्यवस्था गरिएको विभागका महानिर्देशक दाहालले जानकारी दिनुभयो ।

कामदार छनौट भने नेपाल सरकारले गर्ने जनाइएको छ । सरकारले विभिन्न देशमा कामदार पठाउनको लागि सहजीकरणको भूमिका खेल्न सक्ने भए पनि आपूर्तिमा सरकारको उपस्थिति हुन उपयुक्त नहुनेमा सरोकारवालाहरुको जोड छ ।