
रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम विरुद्ध सडकमा जानुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी रहेको बताउँदै उहाँले ओलीको कदमविरुद्ध सडक संघर्षमा निष्कनुको विकल्प नभएको बताउनुभयो ।
बिहीबार निजी निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता सिंहले नेपाली कांग्रेस विज्ञप्तिमा मात्र सीमित हुन नहुने धारणा व्यक्त गर्नुभयो । ‘अहिले आन्दोलनमा जानुपर्छ, यो असंवैधानिक छ भनेर सबैले भनिरहँदा कांग्रेस चुप लागेर बस्न मिल्छ ?’, उहाँले प्रश्न गर्नुभयो, ‘त्यसको विरोधमा सशक्त प्रतिवाद गर्नुपर्छ, आन्दोलनमा जानुपर्छ ।’ आफूहरू लोकतन्त्रवादी पार्टी भएकाले लोकतन्त्रमाथि हमला हुँदा चुप लागेर बस्न नहुनेमा नेता सिंहको जोड छ ।
नेता सिंहले ओलीको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट परेको र त्यहाँबाट संसद पुर्नस्थापना हुनेमा आफू आशावादी रहेको पनि बताउनुभयाे । ओलीको कदमलाई अदालतले खारेज गर्ने उहाँको विश्वास छ । ‘हामीले विगतमा देखिएको अस्थिरताको अन्त्यकै लागि संविधानमै प्रस्ट रूपमा कस्तो अवस्थामा संसद् विघटन गर्ने भन्ने व्यवस्था गरेका छौँ’, उहाँले भन्नुभयो, ‘हामी लोकतन्त्र र संविधानमाथि विश्वास गर्छौं, अदालत स्वतन्त्र निकाय हो, मलाई विश्वास छ अदालतले ओलीको अवैधानिक कदमलाई खारेज गर्छ ।’
प्रतिनिधि सभा पुर्नस्थापना नभए कांग्रेस सरकारमा जान्छ भन्ने प्रश्नमा नेता सिंहले नैतिकता गुमाएर जनमतको उपहास गरेको कम्युनिष्टहरूसँग सहकार्य गर्न कांग्रेसले हतारो गर्न नहुने धारणा व्यक्त गर्नुभयाे । ‘कम्युनिष्टको नेतृत्वमा सरकारमा जाने कल्पना कांग्रेसले गर्नुहुँदैन, तर सत्ता पक्षले काम नगर्दा विकल्प दिने विपक्षी दलले नै हो’, सिंहले भन्नुभयो, ‘देशलाई राजनीतिक संकटबाट बचाउनका लागि आफैँले नेतृत्व गरेर चाहिँ सरकारमा जान सकिएला ।’
नेता सिंहले ओलीले पार्टीको अन्तरद्वन्द्वको रिस संविधान र व्यवस्थामाथि पोखेको आरोप लगाउनुभयो । ओलीले प्रतिनिधि सभा विघटनको कदमलाई ढाकछोप गर्न एक माथि अर्को गल्ती गर्दै जाने सिंहको आँकलन छ ।
नेता सिंहले २०४६ सालको संविधान पश्चात संसद विघटनको घटना धेरै भएकाले वर्तमान संविधानमा संसद विघटन सम्बन्धमा जटिल व्यवस्था गरिएको बताउनुभयो । तर, संविधानमा भएको व्यवस्थालाई कुल्चिएर करिब दुई तिहाइ जनमतको दम्भमा ओलीले संविधानको मर्ममाथि प्रहार गरेको उहाँको जिकिर छ । संविधान मान्दिन भन्ने अधिकार कसैलाई पनि नभएको भन्दै नेता सिंहले संविधानमै नभएको अधिकार प्रयोग गरी प्रतिनिधि सभा विघटन गर्ने अधिकार कहाँबाट आयो भन्दै प्रश्न समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्