
काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटन भएको घटनालाई भारतले आफ्नो जानकारीमा राखेको प्रतिक्रिया दिएको छ ।
प्रतिनिधिसभा विघटनको पाचौँ दिन हिजो भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको राजनीतिक घटनाक्रमलाई नोटमा लिएको अर्थात जानकारीमा लिएको प्रतिक्रिया दिनुभयो ।
यसअघि नेपालले संविधान जारी गर्दा पनि भारतले यसलाई स्वागत नगरी नोटमा लिएको बताएको थियो ।
संसद विघटनलगायतका निर्णयहरू नेपालको आन्तरिक मामिला भएकाले लोकतान्त्रिक र संवैधानिक विधिअनुसार निर्णय गर्ने अधिकार नेपालकै रहेको प्रवक्ता श्रीवास्तवको भनाई छ ।
भारतको विदेश मन्त्रालयमा हिजो पत्रकार सम्मेलनमा बोल्दै श्रीवास्तवले यो नेपालको नितान्त आन्तरिक मामिला भएकाले लोकतान्त्रिक विधिअनुसार नेपालले नै आवश्यक निर्णय गर्ने विश्वास लिनुभयो ।
प्रवक्ता श्रीवास्तवले निकट छिमेकीका नाताले शान्ति, समृद्धि र विकासको बाटोमा अघि बढ्न नेपाल र नेपाली जनतालाई भारतको सहयोग निरन्तर रहने पनि बताउनुभयो ।
उता, नेकपाको आन्तरिक विवाद चुलिँदा सक्रियता बढाउँदै आउनुभएकी चिनिया राजदुत हाउ यान्छीले यसपटक पनि भेटघाट थाल्नुभएको छ ।
राजदूतले पहिलो भेट राष्ट्रपति विद्यादेवी भण्डारीसँग गर्नुभयो भने हिजो उहाँले पुष्पकमल दाहालसँग भेट गर्नुभयो ।
प्रधानमन्त्री केपी ओली र अन्य नेताहरुसँग पनि भेटघाटको तयारी भईरहेको बुझीएका छ । चीनले यो भेटघाटलाई ‘खोप कूटनीति’ को संज्ञा दिएको छ ।
नेपाललाई आवश्यक पर्ने कोभिड विरुद्धको खोप उपलब्ध गराउने आश्वासन चीनले दिइरहेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्