१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झुटा भ्याट बिल बनाउने तीन फर्मविरुद्ध मुद्दा दायर, १९ करोड ९६ लाख बिगो माग दावी


0
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गर्ने केही फर्महरूविरुद्ध मुद्दा दायर गरेको छ ।

झुटा भ्याट बिल बनाउने तीन फर्मलाई १९ करोड ९६ लाख बिगोसहित जरिवाना र कैद सजाय माग गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिका सानेपा २ स्थित कविता सप्लायर्स सेन्टरका प्रोपाइटर नवल किशोर चौधरी र शिवम प्याकेजिङ एण्ड सप्लायर्सका प्रोपाइटर सितादेवी जयसवाल र जय श्री गौतम सप्लायर्सका प्रोपाइटर मुकेशप्रसाद चौधरीबाट गरी १३ करोड २५ लाख १२ हजार तीन सय ४५ विगो असुल गरी जरिवाना र कैद सजायको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो ।

कविता सप्लायर्सले उल्लेखित दुई फर्मबाट सामान खरिद गरेको खर्च देखाई कम आय कर तिरेको थियो ।

त्यस्तै, भ्याट क्रेडिट लिएको उक्त फर्मले आयकर र भ्याट छली गरेको अभियोगमा राजस्व चुहावट (अनुसन्धान र नियन्त्रण) ऐन, २०५२ अनुरूप मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

त्यस्तै विभागले झुटा भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने बाराको बुनियाद गाउँपालिका–१ को शिवम ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक जगदिश सहनी मलाह समेत सात जनालाई चार करोड ८९ लाख ६९ हजार चार सय ४७ विगो असुल गरी जरिवाना र कैदसहित माग गर्दै पाटन उच्च अदालतमा अर्को छुट्टै मुद्दा दायर गरेको छ ।

विभागले गलत विवरण घोषणा गरी राजस्व छली गर्ने पोखरा महानगरपालिका–२२ स्थित अनुस्का मल्टिपर्पोज कम्पनीका शिवलाल तिमल्सिना समेत ३ जनाबाट १ करोड ८२ लाख ५३ हजार चार सय ६१ रुपैयाँ बिगो र जरिवाना माग गर्दै जनकपुर अस्थायी इजलास वीरगन्जमा मुद्दा दायर गरेको छ ।