२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


नपाक्दै झरेर सकियो ताप्लेजुङका सुन्तला (भिडियो)


0
Shares

सन्तोष पुर्कुटी
ताप्लेजुङ । औँसा प्रकोपका कारण नपाक्दै बोटबाट सुन्तला झर्न थाले पछि ताप्लेजुङका सुन्तला किसान चिन्तित बनेका छन् । किरा लागेका दाना झरेर बोट नै खाली हुन थालेपछि किसानको चिन्ता बढेको हो ।

सदरमुकाम फुङलिङ लगायतका अधिकांश क्षेत्रमा दाना लागेदेखि पाक्ने बेला सम्म किरा लागेर सुन्तला झर्ने गरेको छ । पछिल्लो ५÷७ वर्षदेखि औँसा परेर आधा भन्दा बढी सुन्तला पाक्नै नपाइ झर्ने गरेको हो । बगानबाट दैनिक २ डोकासम्म सुन्तला झर्ने गरेको कृषकको भनाइ छ । बिक्रीका लागि बजारको बन्दोबस्ती गर्दै गरेका किसान बोटबाटै सुन्तला झर्न थालेपछि मारमा परेका छन् ।

सुन्तला मात्रै नभइ जुनार, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिर लगायत फलफूलमा पनि किराको संक्रमण फैलिएको छ । यता फूङलिङ नगरपालिकाले आगामी वर्षमा भने विज्ञहरुसँग परामर्श लिएर सुन्तला कृषकको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको छ । आर्थिक वर्षमा समेत वडाको बजेटबाट सुन्तला पकेट क्षेत्रमा सुन्तला खेती विस्तारका लागि काम गरिरहेको फुङ्लिङ नगरपालिका–३ का वडाअध्यक्ष युवराज बरालले बताउनुभयो ।

बोटबाट रोग संक्रमित भएर झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने कृषि प्राविधिकले बताउँदै आएका छन् । झरेका फललाई व्यवस्थित रूपमा व्यवस्थापन र नष्ट गर्न नगरे यसको प्रकोप नियन्त्रण बाहिर जाने र अर्को वर्ष पुनः यहि समस्या दोहोरिन सक्ने उनीहरूको चेतावनी छ ।