
नरेन्द्र मानन्धर
काठमाडौं । काठमाडौं उपत्यकाका सिमसार क्षेत्र विकासको नाममा भएका अनियन्त्रित संरचना विस्तारको चपेटामा पर्न थालेका छन् । पर्यावरणीय दृष्टिकोणले मुल्यवान रहेका यी क्षेत्र मानव मात्र होइन पशुपंक्षीहरूको लागि पनि उत्तिकै महत्वपूर्ण छन् ।
कमल पोखरीको नामले चिनिएको काठमाडौं महानगरपालिका भित्रका योे सिमसार क्षेत्रमा केही वर्ष अघिसम्म ढकमक्क कमलका फूलहरू फुल्थे । तर, अहिले सिमसार क्षेत्रको पानी सुकाएर पोखरीको बीचमा कंक्रिटको कमलको फूल बनाउने योजनासहित पुनःनिर्माण भइरहेको छ । पोखरीलाई सिमसार ऐनको विपरित साँघुरो बनाएर कंक्रिटको संरचना बनाउने ठेक्का महानगरपालिकाले दिएको अभियन्ताहरूको दाबी छ । जसका कारण यहाँको प्राकृतिक स्वरूप मासिएर भूमिगत पानीको स्रोतमा समेत गम्भीर असर पुगेको देखिन्छ । यो क्षेत्र विगतदेखि नै अतिक्रमणको चपेटामा परेको थियो ।
२०३४ सालतिर पनि पोखरी अतिक्रमणमा परेको गुनासो आएपछि नापी विभागले नापी गर्दै अतिक्रमित क्षेत्र फिर्ता गर्ने सिफारिस पनि गरेको थियो । तर फिर्ता हुनुको सट्टा अतिक्रमणको चपेटामा पर्यो । तत्कालीन प्रमुख नापी अधिकृत राजेन्द्र प्रसाद मराठाले विगतमा कमलको फूल फुल्ने, जलहाँस लगायतका चराचुरुङ्गी खेल्ने मनमोहक ठाउँमा पानी नै सुकाएर कंक्रिटको संरचना बनाउँदा आफू दुःखित भएको बताउनुभयो ।
विगतमा पोखरी मिच्न रोक्न सिफारिस गरेको तर रोक्ने निकायले नै बेवास्ता गरेपछि समस्या आएको उहाँले बताउनुभयो । त्यति बेला नै मालपोत कार्यालयले व्यक्तिको नाममा जग्गा दर्ता गरिदिइएको र विद्यालयले समेत मिचेको मराठाले जानकारी दिनुभयो । २००१ र २०३४ सालमा भएको नापीअनुसार नै कमलपोखरीलाई कायम गरेर संरक्षण गर्नु पर्ने उहाँको सुझाव छ ।
वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले विगतको भूभाग कायम राखेर प्राकृतिक स्वरूपमा फर्काउनु पर्नेमा जोड दिनुभयो । सिमसार कमलपोखरी पुनःनिमार्ण र सौन्दर्यीकरणको नाममा प्राकृतिक मौलिकतामाथि प्रहार हुनु कुनै पनि दृष्टिकोणले सही होइन । अझ कमल फूल्ने पोखरीमा फोहोरासहितको कंक्रिट कमलको फूल राख्ने योजनाकारहरूलाई के भन्ने र खोई ?
प्रतिक्रिया दिनुहोस्