२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अब तरकारी किन्दा क्यूआर कोडबाट भुक्तानी


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको छ । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोडको प्रयोग गर्ने अभियान शुरु गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ ।

शुक्रबार काठमाडौंको नक्साल तरकारी बजारमा रहेका पसलहरुमा क्यूआर कोडबाट भुत्तानीको सुरुवात गर्न आयोजित कार्यक्रममा गभर्नर अधिकारीले देशैभरका तरकारी बजारमा क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गरिने बताउनुभएको हो । नगदको चलनचल्तिबाट कोभिड–१९ संक्रमण जोखिमको डर भएकोले क्यूआर कोडबाट भुक्तानी गर्ने अभियान सञ्चालन गरिएको पनि बताउनुभयो । कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै अहिले क्यूआर कोडको प्रयोगकर्ताहरु मासिक रुपमा २० प्रतिशतले बढेको गभर्नर अधिकारीले बताउनुभयो ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहनु भएका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले क्यूआर कोडबाट भुक्तानी गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्दा बैंकहरुको खर्च घटने बताउनुभयो । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले फलफूल तथा तरकारी खरिद गर्दा क्यूआर कोडबाट बिल भुक्तानी गरी कार्यक्रमको थालनी गर्नुभएको हो ।