३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


ब्रोकरको कमिसन ३३ प्रतिशतले घट्यो


0
Shares

काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्ताले शेयर ब्रोकरलाई तिर्दै आएको ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएको छ । आइतबारदेखि कार्यान्वयन हुने गरी समग्रमा ३३ प्रतिशतले ब्रोकर कमिसन घटाएको बोर्डले जनाएको छ ।

लगानीकर्ताले यसअगाडि ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.६ प्रतिशत कमिसन तिर्दै आएका थिए । बोर्डको नयाँ व्यवस्थापछि लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारका लागि ०.४०२ प्रतिशत तिरे पुग्ने भएको छ । त्यस्तै ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.५५ प्रतिशत तिर्दै आएको अबदेखि ०.३६८५ प्रतिशत भएको छ ।

हाल ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत तिर्दै आएकोमा अबदेखि ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको लागि ०.३३५ प्रतिशत र २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.३०१५ प्रतिशत तिर्नु पर्ने व्यवस्था गरिएको छ । लगानीकर्ताले तिर्ने एकमुष्ट कमिसनमध्ये नेपाल स्टक एक्सचेन्जले २० प्रतिशत र नेपाल धितोपत्र बोर्डले ०.६० प्रतिशत लिँदै आएको छ ।