
काठमाडौं । नागरिक समाजका अगुवाहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले शंख बजाएर विरोध गरेका छन् ।
‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरूले शंख बजाउँदै संसद विघटनको विरोध गरेका हुन् । नेपालको संविधानमाथि प्रहार भएकाले विरोध प्रदर्शन गर्नु परेको वृहत नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरूले बताएका छन् । सरकारले प्रतिनिधि सभा विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको भन्दै उनीहरूले सरकारको कदम संसद विघटन मात्रै नभइ संविधान माथिकै आक्रमण भएको आरोप लगाए ।
प्रदर्शनमा सहभागी नागरिक अधिकारकर्मीहरूले संविधान भित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । बृहत नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । नागरिक अगुवाहरूले पुस १८ गतेसम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्