
सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा कृषि तथा औद्योगिक मेला प्रदर्शनी सम्पन्न भएको छ । गाउँपालिकाले कृषि क्षेत्रको विकास र कृषकलाई हौसला प्रदान गर्नका लागि कृषि तथा औद्योगिक मेला प्रदर्शनी गरेको जनाएको छ ।
कृषि तथा औद्योगिक मेला प्रदर्शनीमा १४ प्रकारका एक हजार भन्दा माथि संख्याका कृषि तथा औद्योगिक सामाग्री लिएर २ सय ९३ कृषकले सहभागिता जनाएका छन् । जसमा बेतबाँस, हाते होजियारी, खाँडी, जरे तथा कन्दमुल, मसला बाली, नगदे बाली, दलहलन बाली, तरकारी बाली, फलफुल, खाद्यान्न बाली, तेहलन बाली, फर्निचर, सांस्कृतिक भेषभुषा, विविध रहेको थियो ।
औद्योगिक मेलामा ४५ जना कृषक पुरस्कृत भएका छन् । प्रथमलाई तीन हजार, दोस्रोलाई दुई हजार, तेस्रोलाई एक हजार पाँच सय रुपैयाँ र सान्त्वनालाई एक हजार रुपैयाँको साथमा प्रमाण पत्र प्रदान गरिएको छ । प्रदर्शनीमा सहभागी अन्य कृषकलाई पाँच सय रुपैयाँका दरले यातायात खर्च प्रदान गरिएको छ ।
जिल्लाकै अन्नभण्डारका रूपमा रहेको गाउँपालिकामा कृषिका पूर्वाधार निर्माणलाई जोड दिइरहेको बताउँदै गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले कृषि तथा औद्योगिक मेला प्रदर्शनीले कृषि क्षेत्रको विकासमा सहयोग गर्ने बताउनुभयो । आफूले उत्पादन गरेका कृषि उपजको प्रदर्शन गर्न पाउँदा खुशी भएको सहभागी कृषकहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्