१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युरोपेली संघका आठ देशमा पनि नयाँ प्रकारको कोरोना देखियाे


0
Shares

एजेन्सी । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिनुभयो । उहाँले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिनुभयो ।

कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवाहरूलाई बढी प्रभावित पारेको देखिएको पनि उहाँले जानकारी दिनुभयो । देशहरूको नाम भने उल्लेख गर्नुभएको छैन । उहाँले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका उपायहरूलाई कडाइका साथ अबलम्बन गर्न पनि आह्वान गर्नुभयो ।

नयाँ प्रकारको भाइरसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाइ छ । नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि भएको थियो । त्यसपछि बेलायतबाट अन्य देशहरूमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । तर, अन्य देशहरूमा पनि फैलिएको पुष्टि भइसकेको छ ।