
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गर्नुभएको छ ।
उहाँले शनिबार साँझ मन्त्री आङ्बोलाई बर्खास्त गरेको उहाँका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । आफूविरुद्ध अविश्वासको प्रस्ताव राख्न लागेको थाहा पाएपछि मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई बर्खास्त गर्नुभएको हो ।

केन्द्रमा भएको नेकपा विवादको असर अब प्रदेशमा समेत पुगेको छ । प्रदेश १ का मुख्यमन्त्री ओली समूहका नेता हुन् भने आङ्बो दाहाल–नेपाल समूह निकट नेता हुन् ।
अविश्वासको प्रस्तावका लागि सांसदहरूको हस्ताक्षर संकलन भइरहेको र आइतबार प्रदेश संसद सचिवालयमा पेश हुनसक्ने दाहाल–नेपाल समूहका एक नेताले ईमेजखबरलाई जानकारी दिए ।
यसअघि बागमती प्रदेशमा नेकपाको प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिसकेको छ । प्रदेश १ मा पनि मुख्यमन्त्री राईलाई हटाएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने प्रचण्ड नेपाल पक्षको तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्