
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।दाहाल-नेपाल पक्षका सांसदहरुले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । राईविरुद्धको अविश्वास प्रस्तावको प्रस्तावकमा इन्द्र आङ्बो र समर्थकमा लक्ष्मण तिवारी हुनुहुन्छ ।
अविश्वासको प्रस्तावमा करीब ३६ सांसदले हस्ताक्षर गरेका छन्। उनीहरुले नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटी इन्चार्ज भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरेका छन्।नेकपाका ६७ सांसदमध्ये ४० जना दाहाल–नेपाल समूहमा खुलेका छन् भने २२ जना ओली समूहमा छन्। चार जना अझै खुलिसकेका छैनन् ।
अविश्वासको प्रस्ताव पारित हुन दाहाल-नेपाल समूहलाई कांग्रेस सांसदको समेत साथ चाहिन्छ। यसअघि आज बिहान प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका थिए । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेसँगै दाहाल-नेपाल पक्षले अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको थियो ।
केन्द्रमा केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी दुई गुटमा विभाजित हुँदा यसको असर प्रदेशमा समेत देखिएको हो । मुख्यमन्त्री राईले आफूविरुद्ध लागेर पुष्पकमल दाहाल प्रचण्ड समूहलाई सहयोग गरेको भन्दै हिजो आङ्बोलाई हटाउनुभएको हो ।
आङ्बो गत शुक्रवार माइतीघरमा प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताहरुले अगुवाई गरेको विरोध कार्यक्रममा सहभागी हुनु भएका थियो । प्रदेश १ का मुख्यमन्त्री राई नेकपा ओली समूहमा हुनुहुन्छ भने भिम आचार्य र इन्द्रबहादुर आङ्बो दाहाल-नेपाल समूहमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्