२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दुई महिनादेखि पिसिआर मेसिन थन्कियो, अझै एक महिना सञ्चालन नहुने


0
Shares

नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर मेसिन ल्याएको दुई महिना बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । पिसिआर मेसिन आएपछि दुःख कम होला भन्ने सोचेका स्थानीयहरू समस्यामा परेका छन् ।

गत कात्तिकमा ल्याएको कोरोना भाइरस परीक्षण गर्ने मेसिन सञ्चालनमा नआउँदा उत्साहित भएका नवलपुरका स्थानीय अहिले आक्रोशित भएका छन् । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर मेसिन ल्याएको दुई महिना भइसक्दा पनि अझै सञ्चालनमा आउन नसकेको हो । विना तयारी पिसिआर मेसिन ल्याउँदा अहिले मेसिन प्रयोगविहीन बनेको छ ।

अहिले जिल्लाका स्थानीय तहअन्तर्गतका स्वास्थ्य शाखाहरूले स्वाब संकलन गरी पोखरामा रहेको क्षयरोग केन्द्रमा परीक्षणका लागि पठाउने गरिएको छ । त्यसो गर्दा रिपोर्ट ढिला आउने समस्या देखिएको छ । चाँडै परीक्षण गर्नुपर्ने र रिपोर्ट लिनुपर्नेहरू चितवनस्थित सिएमसी अस्पताल र भरतपुर सामुदायिक अस्पतालमा गइरहेका छन् ।

अस्पतालमा पिसिआर मेसिन आए पनि दक्ष जनशक्ति नहुँदा मेसिन सञ्चालनमा ल्याउन नसकिएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकृत छविलाल सुवेदीले बताउनुभयो । मेसिन ल्याएको १५ दिनमा सञ्चालन गर्ने भनिए पनि जनशक्ति अभावका कारण काम गर्न नसकिएको सुवेदीको भनाइ छ ।

जिल्ला अस्पताललाई स्थानीयले तीब्र दबाब दिदाँ प्रदेशले केही दिनअघि मात्र पिसिआर मेसिन सञ्चालन गर्ने दक्ष जनशक्ति पठाएको छ । जनशक्ति आए पनि पिसिआर मेसिन सञ्चालन हुन अझै एक महिना लाग्ने अस्पतालका सूचना अधिकृत छविलाल सुवेदी बताउनुहुन्छ ।

नवलपुरमा जस्तै अन्य जिल्लाहरूमा पनि पिसिआर मेसिन ल्याएको लामो समयसम्म पनि सञ्चालनमा नआएको दृष्टान्त हामीसमक्ष छ । यस्तो अवस्थामा स्वास्थ्य परीक्षणका सामग्री सम्बन्धित ठाउँमा पु¥याउनका साथै यसको सञ्चालनमा पनि सहजीकरण र अनुगमन हुन आवश्यक छ ।