
दीपक श्रेष्ठ (ईमेज)
काठमाडौं । नेपालमा पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटनामा बृद्धि हुँदै गएको छ । केही बर्ष अघिसम्म भारतमा हुने ओसारपसारले आफ्नो परिधि बढाउँदै युरोप र अमेरिकासम्म पुर्याइसकेको छ । बेचबिखनको बदलिँदो स्वरूपले यसको नियन्त्रणमा पनि उत्तिकै चुनौति थपेको छ ।
लागुऔषध र हातहतियार कारोबारपछि विश्वमा तेश्रो ठूलो संगठित अपराधको रूपमा मानव बेचबिखन तथा ओसारपसार देखिएको छ । महिला तथा बालबालिकासँगै बयस्क पुरुषसमेत यो अपराधबाट पीडित भएका छन् । पहिला नेपालबाट छिमेकी राष्ट्र भारतसम्म मात्र भएको मानव वेचविखन अहिले भने निकै ठूलो बनिसकेको छ । पछिल्लो समय भारतसँगै खाडी मुलुक, अफ्रीकन मुलुक युरोप तथा अमेरिकासम्म विभिन्न स्वरूपमा मानव बेचबिखन तथा ओसारपसार भइरहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख डाक्टर देबबहादुर बोहराले बताउनुभयो ।
ब्यूरोको स्थापना भएको २ वर्षमा नै यस्तो जघन्य सङ्गठित अपराधमा संलग्न १ सय ३९ वटा समूहलाई पक्राउ गरी मुद्दा चलाइएको छ । सूचना तथा प्रविधिको सहज पहुँचसँगै मानवतस्करहरूको सञ्जाल झनै व्यापक भएको छ । मानव बेचबिखनका लागि इन्टरनेट र मोबाइल फोनमा उपलब्ध हुने नयाँ–नयाँ एपको समेत प्रयोग हुन थालेको छ ।
सोझा र कमजोर आर्थिक पृष्ठभूमिका नेपाली युवायुवती तथा किशोरकिशोरीको विदेशमा बेचबिखन हुने क्रम झनै भयावह बन्न थालेको छ । घरेलु हिंसा, पारिवारिक विचलन र आर्थिक असुरक्षाका कारण नेपालमा मानव बेचबिखनको दर बढिरहेको छ । सस्तो श्रम तथा यौन कार्यको लागि विश्वमा हुने मागको बढोत्तरीले पनि मानव बेचबिखनको अवस्था र यसको स्वरूपमा परिवर्तन आइरहेको देखिन्छ । मानव बेचबिखन तथा ओसारपसार जस्तो अपराध नियन्त्रणको लागि विद्यमान कानून पर्याप्त नभएको र अझ कडा खालको हुनु पर्ने ब्युरोका प्रमुख बोहराको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्