
काठमाडौं । दाङमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ए बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ ।
दाङको देउखुरी मैदानमा आइतबार भएको खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गरेसँगै एक खेल अगावै एपीएफ र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । लगातार दुई–दुई खेलमा पराजित भएका कर्णाली र प्रदेश २ प्रतियोगिताबाट बाहिरिएका छन् ।
यता प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा एपीएफले प्रदेश २ ले प्रस्तुत गरेको ७३ रनको विजयी चुनौतीलाई १३ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । एपिएफकी ओपनर ज्योती पाण्डे ४० बलमा ४ चौका सहित सर्वाधिक ३० रनको योगदान दिइन् भने सरिता मगर ६ र इन्दु बर्मा १ रनमा अविजित रहिन् ।
त्यसअघि कप्तान सीता राना मगर ३० बल खेल्दै १ चौका सहित १८ रनमा आउट भइन् । बलिङतर्फ प्रदेश २ की कविता गौतम र सरस्वती कुमारी चौधरीले १–१ विकेट लिइन् ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर ७२ रन बनाएको थियो । टिमले उक्त रन बनाउने क्रममा उसका लागि अनुराधा चौधरीले सर्वाधिक ठूलो पारी खेलिन् ।
यस्तै टोलीका लागि शोभा आलेले १३ रन बनाउँदा सन्तोषी चौधरीले ९ रन र विमला मगरले ६ रन बनाएकी थिइन् । बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् भने रेखा रावल, करुणा भण्डारी, इश्वरी बिष्ट र राजमती ऐरीले एक एक विकेट लिएका थिए ।
अब प्रतियोगिता अन्तर्गत भोलि पहिलो खेलमा प्रतियोगिताबाट बाहिरी सकेका कर्णाली र प्रदेश २ को बीच प्रतिस्पर्धा हुनेछ भने दिनको दोस्रो खेलमा सेमिफाइनल पुगिसकेका एपीएफले लुम्बिनीको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्