२४ चैत्र २०८१, आइतबार | Sun Apr 6 2025


आयल निगमको एक वर्षको नाफा १२ अर्ब ७८ करोड


0
Shares

काठमाडौं । लकडाउनका कारण इन्धन आयात घटेपनि नेपाल आयल निगमले एक वर्षमा ४ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ । ब्याज आम्दानी, ढुवानीका क्रममा भएको बचत र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि निगम नाफामा गएको हो ।

निगमले हिजो सार्वजनिक गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ मा १२ अर्ब ८७ करोड नाफा भएको छ । यसअघि आर्थिक वर्ष २०७५/०७६ मा ८ अर्ब ७५ करोड रुपैयाँ मात्र नाफा भएको थियो ।

रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन र मुद्दती निक्षेपमा लगानी गरी कमाएको ब्याजका कारण पनि नाफा बढेको निगमले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा निगमले ब्याजबापत ७६ करोड आम्दानी गरेको थियो भने २०७६/०७७ मा १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी भएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यको उत्तारचढावसँगै स्वचालित मूल्य प्रणाली लागू गरेपछि निगमले नाफा कमाउन थालेको हो ।

निगमले आर्थिक वर्ष २०७४/०७५ मा ३ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको थियो । कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल आएपछि दुई वर्षमा थप ९ अर्ब २९ करोड नाफा भएको छ । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न नसक्दा निगमले २०५९/०६० देखि घाटा व्यहोरिरहेको थियो । चरम नोक्सानीमा पुगेपछि निगमले ऋण लिएर इन्धन आपूर्ति गरेको थियो ।

पटकपटक गरी ३६ अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको थियो । त्यसयता निगम निरन्तर घाटामा थियो । निगमभित्रको अपारदर्शिता र ट्यांकरमा हुने चुहावट, अन्तर्राष्ट्रिय बजारअनुसार इन्धनको मूल्य समायोजन नहुँदा घाटा बढेको आरोप लाग्ने गरेको थियो ।

२०६५/०६६ सालमा भने निगमले ३ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको थियो । त्यसपछि पुनः निरन्तर घाटामा थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि निगमले २०७१/०७२ मा १५ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको थियो । हाल निगमको सञ्चित नाफा २१ अर्ब ३७ करोड रुपैयाँ छ ।