
इमेज राजनीतिक ब्यूरो
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि आह्वान गरिएको राष्ट्रियसभा बैठकको तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा पुर्नगठनको मागसहित आन्दोलनमा उत्रिएका दलहरुले राष्ट्रियसभामा यो विषय कसरी उठाउलान भनेर अडकलबाजी भइरहेको बेला यो विषय राष्ट्रियसभामा नउठ्ने भएको छ ।
राष्ट्रियसभाको बैठक पुस १७ गते बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाको बैठक पहिलो पटक बस्न लागेको हो । राष्ट्रिय सभाको सातौँ अधिवेशन पुस १७ गते दिउँसो ४ बजे आह्वान गरेसँगै संघीय संसद सचिवालयले अधिवेशनको तयारी पूरा गरेको बताएको छ । स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा गरी बैठकका लागि आवश्यक व्यवस्थापकीय काम पूरा भएको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा विघटनपछि बस्ने राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा विघटनको विषयमा के कसरी कुरा उठ्छ भन्ने आम चासोको विषय बनिरहेका बेला प्रतिनिधिसभा विघटनको विषय राष्ट्रियसभाको बैठकमा उठाउन नपाइने भएको छ । संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले सर्वोच्चबाट निर्णय नआइकन राष्ट्रियसभामा छलफल चलाउनु नहुने राष्ट्रियसभा उपाध्याक्ष शशिकला दाहालको तर्क छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माको मत भने यसमा फरक छ । समसामयिक राजनीतिक विषय, विकास निर्माण र जन सरोकारका विषय राष्ट्रियसभामा स्वभाविक रुपमा सवाल उठ्ने भएकाले आफूहरुले यसको सामना गर्ने गरी तयारी गरेको उहाँको भनाइ छ । राष्ट्रियसभा अधिवेशनको मुख्य विषयवस्तु अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिको पत्र, सरकारले जारी गरेका ७ वटा अध्यादेशहरुमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्