
केशव कोइराला
बर्दिया । द्वन्द्वकालमा तत्कालीन माओवादीले विस्थापित गराएको बर्दियाको राजापुर सिँचाइ आयोजनाको कार्यालय सरेर जिल्ला सदरमुकाम गुलरीयामा गएको धेरै वर्ष बित्दा पनि पुरानै ठाउँमा फर्काउन सकिएको छैन ।
आयोजनाको मुख्य क्षेत्र राजापुर नगरपालिका र गेरुवा गाँउपालिका करिब १२ हजार किसानलाई कार्यालयको कामका लागि सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहँदै आएको छ ।
आयोजनाले १६ हजार हेक्टर जमिनमा सिँचाइ गर्दै आएको छ । पानीमा बालुवा मिसिएर आउने, बाँध तथा नहर भत्किनेदेखि सानो समस्या लिएर पनि किसानलाई सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ । किसानहरूले सानो कामका लागि पनि सदरमुकाम जानुपरेको गुनासो गरेका छन् ।
दिनहुँ जसो सिँचाइ आयोजनाको कामका लागि भन्दै सदरमुकाम जानु परेको भन्दै किसानहरू गुनासो लिएर नगरपालिका तथा गाउँपालिकाको कार्यालयमा जाने गर्छन् । नगरपालिकाले आयोजनालाई पटक–पटक आग्रह गर्दा पनि कार्यालय स्थानान्तरण नगरेको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी बताउनुभयो ।
आयोजनको नाम अनुसार कार्यक्षेत्रमा कार्यालय स्थापना गर्न नसक्नु आफैँमा शोभनीय नभएको र राजापुरमा कार्यालय बनाउन आफूहरूले पहल गरिरहेको आयोजना कार्यलयका निमित्त प्रमुख इन्जिनियर माधव कोइराला बताउनुहुन्छ ।
यता, उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयले पनि आयोजनालाई कार्यक्षेत्रमा पठाउनका लागि सबै प्रक्रिया पूरा गरिसकेको र आार्थिक वर्ष २०७८/०८९मा राजापुरबाटै सञ्चालन गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्