१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कालापानीबासीको सपना पूरा


0
Shares

दिवस रिजाल
खोटाङ । जिल्लाका कालापानीवासीको पानी पिउने सपना लामो समयपछि पूरा भएको छ । एक गाग्री पानी लिन तीन घण्टा हिडेर जानु पर्ने बाध्यता झेल्दै आएका कालापानीवासी गाउँमै पानी आएपछि हर्षित भएका छन् ।

चर्को घाम । गलाभरी माला र अनुहारभरी अबिरले राताम्मे भएको यो माहौलले कुनै उत्सवको झझल्को गराउँछ । तर, खोटाङको कालापानीमा देखिएको यस्तो दृश्यको कथा बेग्लै छ । सुक्खा डाँडोमा पानी झर्दा कसको पो मन नरमाउला र ? हो पानीकै अभावका कारण वसाइसराइ गर्न बाध्य भएका लिच्कीराम्चे स्थित यो सुकौरे डाँडाका कालापानीवासी गाउँमै सुनकोसीको पानी झरेपछि हर्षित भएका छन् । खानेपानीकै अभावका कारण यहाँका १ सय २० घरधुरी मध्ये ६० घरधुरी बसाइ सरीसकेका छन् ।

लिफ्टीङ प्रणाली मार्फत सुनकोसीको रसुवाघाटबाट १८ सय मिटरमाथि रहेको यो गाउँमा पाँच वर्षको पर्खाइपछि पानी निकालिएपछि स्थानीयवासी खुशी भएका हुन् । सुक्खा ठाउँमा सुनकोशीको पानी आउला र खाउला भन्ने कसैलाई पत्यार लागेको थिएन । तर, आँखै अगाडी पानीको धारमा पानी खसेको देख्दा उनीहरूलाई सपना झैँ लागेको छ ।

नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाख रुपैयाँ बराबरको श्रमदान गरी करिब १ करोड ८० लाख रुपैयाँमा रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम सम्पन्न भएको हो । पिउने पानीको चरम अभावमा मरुभूमि जस्तै बनेको सुकौरे डाडोमा तीब्र बसाईसराई भएको थियो । त्यसलाई रोक्न कालापानीमा सुरु गरिएको रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम पूरा भएसँगै नदीको पानी गाउँमा तानिएको हो ।

सुनकोशीको पानी आएपछि कालापानीका ६२ घरधुरीले अब बसाई नसर्ने अठोट लिएका छन् । गाउँ र नदीको बीचमा निर्माण गरिएको पहिलो र दोश्रो सप्लाई ट्यांकी हुँदै सबैभन्दा माथि निर्माण गरिएको मूल ट्यांकीमा नदीको पानी निकालेर ९७ वटा धारामार्फत ५ सयभन्दा बढी उपभोक्तालाई पानी वितरण गरिने भएको छ ।

गाउँमा पानी आएपछि सुक्खा बारीमा फलफूल र तरकारी खेती गर्ने स्थानीयको सोच छ । कालापानीमा खानेपानीको समस्या हल गर्न नदीको पानी निकाल्नु वा बस्ती सार्नु पर्ने अवस्था देखिएपछि रसुवाघाट–कालापानी पम्पिङ आयोजनाको काम अघि बढाइएको थियो । जुन आयोजनाले मूर्त रूप लिँदा कालापानीबासीको सपना पनि पूरा भएको छ ।